- विगत पाँच दशकदेखि आफ्नो कर्मभूमी झापालाई बनाएर अनवरत पत्रकारिता र साहित्यमा सक्रिय रहनुभएको व्यक्तित्वको नाम हो नकुलकाजी । भारतको दार्जिलिङमा जन्मिनुभएका काजीको पत्रकारिता यात्रा बि.सं. २०२२ मा दार्जिलिङको सिंगमारीबाट प्रकाशन हुन ‘पल्लव’ पाक्षिक पत्रिका र कोलकाताबाट प्रकाशित हुने ‘अमृत बाजार’ अंग्रेजी दैनिक पत्रिका र २०२३ सालमा दार्जिलिङकै ‘आवाज’ पाक्षिकको सम्पादन समूहमा आवद्ध रही पत्रकारिता गर्दै आउनुभएका काजी २०२५ सालमा झापामा आएर तत्कालीन झापा जिल्ला पञ्चायतको मुखपत्र ‘पञ्चायत’ मासिक पत्रिकामा आवद्ध रहनु भयो । हालसम्म वहाँको नेपाली पत्रकारितामा निरन्तर योगदान जारी छ ।
२०२८ साल बैशाख १ गतेबाट आफ्नै सम्पादन र प्रकाशनमा ‘विवेचना’ मासिक सुरुवात गर्नुभयो । सो पत्रिका मासिकबाट साप्ताहिक अर्धसाप्ताहिक र दैनिक हुँदै २०६६ सम्म नियमित प्रकाशन गर्नुभयो । त्यसबाहेक वहाँले झापामै रहेर थुप्रै पत्रपत्रिकाहरूको प्रकाशन/सम्पादन गर्नुभयो । वहाँको व्यक्तित्वलाई नजिकबाट चिन्ने साहित्यकार र चित्रकारका रुपमा समेत चिन्ने गरेका छन् । प्रस्तुत छ, उनै अग्रज पत्रकार नकुल काजीसँग ‘स्वतन्त्र आवाज’ टिमले गरेको सम्वादको सम्पादित अंश :
पत्रकारिताको भाषा :
जब हामी सुट–टाई लगाउँ, टेबलमा बसेर खाउँ । एकदम टिपटप भएर हिडौं । त्यती गर्दा केही आपत्ती छैन । तर, जब तपाईंको भाषा बिर्सिनुहुन्छ भने तपाईंले आफ्नो जातीय पहिचान बिर्सिनुहुन्छ । २००८ सालमा मैले एउटा सम्पादकीय लेखें । त्यो बेलामा राजालाई राजा र रानीलाई रानी मात्र भन्ने परम्परा थिएन । मैले सम्पादकीयमा के लेखें भने, श्री ५ बडामहाराजाधिराज तथा श्री ५ बडामहारानी सरकारहरू बिर्तामोडमा सवारी होस् र त्यसैदिन केचनामा अमिताभ बच्चन आउन्, कहाँ बढी मान्छे भेला हुन्छ । राजतन्त्र जय–जय भनेर जनताले अभ्यन्तरबाट बोलेको छ कि छैन ? त्यो कुरा हेरिनुपर्छ । यदी राजतन्त्रको जय–जयकार हार्दिकतापूर्वक भनेको छ भने संविधानसभाबाट राजतन्त्रले डराउनु पर्दैन, त्यो लेखें मैले । त्यसको तीन महिनासम्म माओवादीको डरले आर्मीले हाम्रो कार्यालय वरिपरि गस्ती ग¥यो । यस्को अर्थ मैले भन्न खोजेको कुरा के हो भने, एक पत्रकारिता निरपेक्ष हुनुपर्छ । तपाईंको कलमलाई तपाईंले कुनै समूहको बनाउनु भएन, कुनै गिरोहको बनाउनु भएन । पत्रकारिता कुनै बिचारसँग टाँसिएको हुनुहुँदैन । दुई नम्बर कसैले कुन भाषाको पत्रिका चलाइरहेको छ, त्यो भाषा राम्रो हुनुपर्छ । भाषामा चैं मेरो सबैभन्दा बढी ‘सिरियसनेस’ हो ।
विगतको पत्रकारिता :
६४ वर्ष भएछ मैले पत्रकारिता गरेको, कलम र कागज चलाएको । पञ्चायतकालमा मैले के लेखें भने, गोपालचन्द्र सिंहको नाम गुरसिंहभिट्टाभन्दा राम्रो ठाउँसँग कहिल्यै जोडिएन भनेर लेखें । हरिनाथ बाँस्तोलाको हात छोएर सुँघ्यो भने कस्तुरी गनाउँछ, नरेन्द्र खनालको पेटको अपरेशन ग¥यो भने बालमन्दिर र मेची क्याम्पसको रोडा–बालुवा निस्किन्छ भनेर सोझै लेखें ।
अहिलेको पत्रकारिता :
अहिले तपाईं कलासाथ प्रस्तुत हुनभयो भने आजको भोली प्रसिद्धि लिनुहुन्छ । भद्रपुरमा मात्र मेरो पत्रिका ‘विवेचना’ आठसय पत्रिका बिक्री हुन्थ्यो । अहिले पनि तपाईं निडर भएर पत्रिका निकाल्निुभयो भने उति नै चल्छ ।
पत्रकार महासंघ बारे :
बिर्तामोडमा पत्रकार महासंघले बिल्डिङ बनायो ऐससँग बस्यो तर तल बजारमा धरातलीय जनताले विषयुक्त सब्जी जुन खाइरहेको छ, त्यसबारे लेख्दैन । निडर भएर सत्यलाई ‘फ्लास’ गर्नुपर्छ ।
राजतन्त्र बारे :
म जियोग्राफी पढेको मान्छे । खोलाको तीनवटा स्टेज हुन्छ, हिल स्टेज प्लेन स्टेज र डेल्टा स्टेज भन्ने । त्योे तीन स्टेजमा पहाडबाट छङ्छङ् छाँगो झरेको । कन्काइ (सम्म) मा आएपछि त्यो फैलिन्छ, त्यो प्लेन स्टेज भयो । अनि त्यो बग्दै बग्दै समुद्रमा पुगेर मिसिने बेलामा डेल्टा अर्थात् त्रिकोणाकार बन्छ । अहिले राजतन्त्र डेल्टा स्टेजमा पुगेको छ । अब डेल्टामा आइसकेको कुरा र फेरि फल्स स्टेजमा जानसक्छ ? सम्भव छ ? त्यसोभए कि त शासकीय स्वरुप परिवर्तन गर्नुप-यो ।
अस्ती ज्ञानेन्द्र पोखराबाट फर्किंदा देखिएको अथाह समूह देखियो । त्यहाँ लाखौंको भिँड देखियो । के त्यो भिँड ज्ञानेन्द्र मान्न आएको हो र ? त्यो त अहिले शासनको व्यवस्थाप्रतिको असन्तुष्टी व्यक्त गर्न आएको हो ।
विगतमा त्यसैगरि राजा–रानीलाई हेर्न आउने भिँड लाग्थ्यो । हामी नै जिन्दावाद भन्दै नारा लगाएर हिँडेका छौं । राजा–रानीको जन्मोत्सवमा र राजाको आमाको जन्मोत्सवमा पनि हिँडेका छौं । बाध्यता थियो । ट्रुथ (सत्य) के हो भने त्यो भिँड राजा मान्न आएको होइन । आउट अफ इरिटेशन इरिटेड भएका छन् त्यो इरिटेशन व्यक्त गर्न आएका हुन् ।