नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको वैठक सकिएको छ । यो वैठकका मुख्य निर्णय के के हुन ?

 केन्द्रीय समितिको हालै सम्पन्न बैठकमा पार्टीको आगामी योजना र रणनीतिलाई प्रभाव गर्ने गरी केही दीर्घकालीन महत्वका निर्णयहरू भएका छन् । मंसिर महिनामा महाधिवेशन गर्ने निर्णय भएको छ । महाधिवेशनको तयारीका लागि असारसम्म वर्तमान केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा परिवर्तन गरिनेछ । महाधिवेशनले पार्टीलाई नयाँ विचार र कार्यदिशासहित अगाडि बढाउने उद्देश्य राखेको छ ।

पहिलो यो छ महिनासम्म ‘जनतासँग माओवादी’ अभियान सञ्चालन गरिनेछ । यो अभियानले जनतासँग प्रत्यक्ष संवाद गरी पार्टीको राजनीतिक, आर्थिक र सामाजिक अवधारणालाई प्रस्तुत गर्नेछ । जनयुद्ध दिवस (फागुन १) को अवसर पारेर पूर्व–पश्चिम राजमार्गमा अभियान सुरु गरिनेछ ।

विभिन्न वामपन्थी र कम्युनिस्ट पार्टीहरूबीच एकता कायम गर्न सिनियर नेताको नेतृत्वमा विशेष कमिटी गठन गर्ने निर्णय गरिएको छ । यसलाई छिट्टै सार्वजनिक गरिदैंछ । यो कमिटीले साझा एजेन्डा निर्माण र पार्टी एकताबारे छलफल गर्ने जिम्मेवारी पाएको छ ।

पार्टीले वैचारिक निष्ठालाई बलियो बनाउँदै संगठनलाई सशक्त बनाउने निर्णय गरेको छ । यो बैठकले समाजवादतर्फको यात्रा प्रष्ट गर्न राजनीतिक दस्तावेज तयार पारेको छ । यस दस्तावेजलाई कार्यान्वयन गरेर पार्टी र अन्य वामपन्थी शक्तिबीचको भिन्नता जनतासमक्ष प्रष्ट पारिने निर्णय गरिएको छ । छ महिनाभित्र पार्टीका सबै मोर्चाहरूको सम्मेलन गर्ने निर्णय गरिएको छ ।

माओवादी केन्द्रले आगामी महाधिवेशनको घोषणा त गरेको छ । यो महाधिवेशनको मुख्य उद्देश्य के हो ?

महाधिवेशनको मुख्य उद्देश्य पार्टीलाई वैचारिक, सांगठनिक र रणनीतिक रूपमा थप सशक्त बनाउनु हो । 

‘जनतासँग माओवादी’ अभियानलाई तपाईंहरू कसरी परिभाषित गर्नुहुन्छ ?

यो अभियान समाजवादको यात्रामा एक महत्वपूर्ण कोशेढुंगा हुनेछ । यस अभियानले माओवादी आन्दोलनको राजनीतिक, आर्थिक र सामाजिक अवधारणालाई प्रस्तुत गर्ने मात्र होइन, हाम्रो सांगठनिक संरचनालाई पनि पुनः सशक्त बनाउनेछ ।

पार्टीले कम्युनिस्ट शक्तिहरूबीच एकताको आवश्यकता औंल्याएको छ । यसको उद्देश्य के हो ?

वर्तमान समयमा कम्युनिस्ट शक्तिहरूबीच विभाजनले आन्दोलन कमजोर बनिरहेको छ । हाम्रो लक्ष्य वैचारिक स्पष्टताका साथ समाजवादको यात्रालाई गति दिनु हो । यसका लागि वरिष्ठ नेताको नेतृत्वमा विशेष कमिटी गठन गरिने निर्णय भएको छ । यसले माओवादी, क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई संगठित गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । 

यो कमिटीको भूमिका कस्तो हुनेछ ?

कमिटीले विशेषगरी माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुसँग छलफल गर्दै साझा मुद्दा निर्माण गर्नेछ । यसले परिवर्तनका पक्षमा रहेका कम्युनिस्टहरुबीचको एकतालाई सुदृढ बनाउने आधार तयार गर्नेछ ।

यसपटक पार्टीभित्र मतभेदहरू सतहमा देखिए । यसलाई कसरी सम्वोधन गरियो ?

हामीले पार्टीभित्र बहसलाई खुलेर स्वागत गर्दै सहमति र समझदारीको वातावरण बनायौं । जनवादी केन्द्रीयतालाई सशक्त बनाउन वैचारिक रूपमा स्पष्ट दृष्टिकोणको साथ अगाडि बढ्ने प्रण गरेका छौं ।

आगामी महाधिवेशनले पार्टीको भविष्यमा कस्तो प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ ?

 महाधिवेशनले नयाँ विचार र कार्यदिशालाई मूर्त रूप दिन सहयोग पु¥याउनेछ । यो माओवादी केन्द्रलाई मात्र होइन, समग्र वामपन्थी आन्दोलनलाई दिशा दिने महत्वपूर्ण कदम हुनेछ ।

पार्टीले आफ्नो विगतका कमजोरीहरूबाट सिकेर आगामी दिनमा के परिवर्तन गर्ने योजना बनाएको छ ?

विगतका कमजोरीहरूको समीक्षा गर्दै हामीले सशक्त सांगठनिक संरचना, जनतासँगको प्रत्यक्ष सम्बन्ध र वैचारिक स्पष्टतालाई प्राथमिकता दिएका छौं । समाजवादप्रतिको हाम्रो प्रतिबद्धताले नै भविष्यमा माओवादी केन्द्रलाई नयाँ उचाइमा पु¥याउनेछ । सोंच र वाणीबीचको अन्तरविरोध हल गर्न केही ठोस निर्णय पनि भएका छन् । केन्द्रीय समितिका सम्पत्ति विवरण पार्टीलाई बुझाउने, अकुत कमाएको छ भने त्यसलाई पार्टीकरण, राष्ट्रीयकरण गर्नेबारे छलफल भएका छन् । भनाइ र गराइको अन्तरविरोधलाई हल गर्ने कोशिश भएको छ । पार्टी सरकारमा जाने कुरा यतिवेला पार्टीको प्राथमिकतामा छैन ।