नेपाल एक सुन्दर देश हो जसको संस्कृति, परंपरा र विविधता विश्वभर प्रसिद्ध छ । तर दुःखद कुरा के छ भने, हाम्रो राजनीतिक संस्कृति गाली–गलौजमा फस्न थालेको छ । राजनीतिक दलका नेताहरू, कार्यकर्ता र आम नागरिकबीचको संवादमा गालीको प्रयोग बढ्दै गएको छ, जसले देशको विकासमा नकारात्मक प्रभाव पारिरहेको छ । सामाजिक सञ्जालमा गरिने निम्नस्तरको गाली–गलौज हेर्दा नेपालीहरूले आफ्नो सभ्यता भुलेर बर्बर युगमा प्रवेश गर्न थालेको भान हुन्छ । 

गाली–गलौजले केवल व्यक्तिगत स्तरमा मात्र होइन, सामूहिक र राष्ट्रिय स्तरमा पनि हानिकारक प्रभाव पार्छ । जब नेता र समर्थकहरूले एक अर्कालाई गाली गर्छन्, त्यसले आम जनताको मनोबललाई कमजोर बनाउँछ । राजनीतिक विवादमा गाली प्रयोग गर्दा, यो केवल विचारको अभिव्यक्ति होइन, बरु अपमान र द्वेषको प्रतीक बनिदिन्छ । यसले राजनीतिक बन्धुत्वलाई कमजोर पार्छ र समाजमा विभाजन सिर्जना गर्छ ।

नेपालमा गाली–गलौजको यो प्रवृत्ति केवल राजनीतिक दलहरूमा सीमित छैन । आम नागरिक पनि यसमा संलग्न भएका छन् । सामाजिक सञ्जालको विकाससँगै, गाली–गलौजको यो संस्कृति अझ फैलिएको छ । फेसबुक, ट्विटर जस्ता प्लेटफर्महरूमा हरेक दिन विभिन्न राजनीतिक विषयमा गाली–गलौज गरिन्छ । यसले लोकतन्त्रको आधारभूत मूल्यहरूलाई कमजोर बनाउँछ र नागरिकको ध्यान महत्वपूर्ण मुद्दाहरूबाट हटाउँछ ।

हामीले गाली–गलौजको ठाउँमा सभ्य र समर्पित विरोधको वातावरण बनाउनुपर्छ । कुनै पनि कुरा प्रतिकूल लागेमा, त्यसको बिरोध गर्न सभ्य तरिकाबाट गर्नुपर्छ । सभ्यतापूर्वक विरोध गर्दा, हाम्रो विचार र भावनाहरूलाई सही तरिकामा व्यक्त गर्न सकिन्छ । यसले सुनुवाइको वातावरण सिर्जना गर्दछ र एक अर्कासँगको सम्मानलाई मजबुत बनाउँछ ।

राजनीतिक नेताहरूले पनि गाली–गलौजको प्रवृत्तिमा रोक लगाउनुपर्छ । उनीहरूले नागरिकलाई सभ्य संवादको महत्व बुझाउनुपर्छ । जब नेताहरू गाली–गलौज गरेर एक अर्कालाई टोक्छन्, त्यसले आम जनतालाई पनि त्यसै गर्न प्रेरित गर्छ । यसैले, नेताहरूको उदाहरणले नागरिकलाई सही दिशा दिन्छ ।

देश बनाउन केवल सरकारको जिम्मेवारी हुँदैन । देशभित्र र बाहिरका नागरिक, कर्मचारी, व्यवसायी, प्रहरी, प्रशासन र सबै राजनीतिक दलको पनि यसमा उत्तिक्कै जिम्मेवारी हुन्छ । प्रत्येक नागरिकले आफ्नो कर्तव्य बुझ्नुपर्छ र देशको विकासमा योगदान दिनुपर्छ । गाली–गलौजको स्थानमा विचार विमर्श र सहमति खोज्नुपर्छ ।

सामाजिक सञ्जालमा सकारात्मक संवादको प्रवद्र्धन गर्नुपर्छ । जब हामी एक अर्कालाई सहयोग गर्छौं, तब मात्र देशको विकास सम्भव हुन्छ । नागरिकको सक्रिय सहभागिता र जिम्मेवारीले देशलाई समृद्ध बनाउन मद्दत गर्छ ।