सुनिता साह `क्रान्ती´
- हरेक वर्ष ८ मार्च को दिनमा विश्वभरि महिलाहरुको सम्मानमा अन्तर्राष्ट्रिय नारि दिवस मनाईन्छ। यो दिन नारिको त्याग र समाजप्रतिको बलिदानको लागि महिलाहरूलाई प्रेम, प्रंशसा, आदर र सम्मान गर्ने दिनको रुपमा संसार भरि विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरिन्छ ।
नारिहरू पहिला छोरी अनि दिदी , बहिनी, बुहारी ,आमा, हजुरआमा आदिको रुपमा आफनो हरेक इच्छा आंकाक्षाहरुलाई पछि सारेर र परिवारको उन्नतिको लागि हरपल प्रयासरत रहन्छन् । घर परिवार लगायत समाजको साथै रास्ट्रको प्रगतिमा नारिको सधैं महत्त्वपूर्ण भुमिका रहँदै आएको छ। तर, परापूर्व काल देखि नै विश्वभरिका नारिहररू सधैं पछाडि पारिदै आएका छन् ।
नेपालको सन्दर्भमा हेर्ने हो भने महिलाहरूको अवस्था अत्यन्त दयनीय रहेको छ।देशको जनसंख्याको आधा भन्दा बढी संख्या ओगटेको नारिहरू अझै पनि दाईजो प्रथा, घुम्टो प्रथा, विधवा प्रथा, छाउपडि प्रथा आदि जस्ता कुरुतिरहरू झेल्न बाध्य छन् । धेरै जसो महिलाहरु अझै पनि भात-भान्सा, मेलापात, घास दाउरामै सिमित छन् ।
समय र परिस्थिति सँगै समाज परिवर्तन हुँदै आएको छ। सति प्रथा जस्तो अमानवीय प्रथाहरू देशबाट उन्मुलन भई बिस्तारै महिलाहरूको स्थितिमा सुधार आएको भने देख्न सकिन्छ ।
छोरिहरूले पनि विधालय जाने र शिक्षा हासिल गर्ने अवसर पाउन थालेका छन् । उच्च शिक्षाको लागि विदेश पनि जान थालेका छन् । सगरमाथा देखि चन्द्रमासम्म महिलाहरू आफ्नो नाम-किर्तीमान बनाउन सफल भईरहेको छन् । सबै महिलाहरू घरको काममा मात्र सिमित नरहि बाहिर अथवा विभिन्न उल्लेखनीय कामहरु पनि गर्न थालेका छन् । त्यसकारण आजका महिला आश्रित नारि नभई सबै काम गर्न सक्षम, सबल, स्वतन्त्र र आत्मनिर्भर भई अगाडि बढेका छन् ।
विभिन्न ठाउँहरूमा रहेका महिलाहरू भित्र लुकेका प्रतिभाहरु बिस्तारै अगाडि आईरहेका छन् ।आजका नारि विश्व किर्तीमानि कार्यहरू सफलताका साथ गर्न सक्दछन् । महिलाहरू स-शक्त भएर आफनो भविष्य आफैले बनाउन सक्षम छन् र हुनुपर्छ ।
हाल संसारभर नै नारि उत्थान र विकासको लागि धेरै प्रंशसनीय तथा प्रभावकारी कदमहरू चालिएका छन् । त्यसै गरि नेपालमा विभिन्न समयमा महिला अधिकारका लागि सकारात्मक पाईलाहरू बिस्तारै अघि नबढेको भने होइन तर अझै पनि धेरै गर्न बाँकी नै छ।
चेलिबेटी बेचबिखन, बलात्कार, हत्या, घरेलु हिंसाहरु र सामाजिक कुरुतिहरूलाई सकेसम्म चाँडो हटाएर महिलाहरूलाई निर्धक्क भएर जीवन-यापन गर्ने वातावरण बनाउने कार्यमा हामी सबै हातेमालो गर्दै अघि बढनु जरुरी देखिन्छ।
त्यसैले यो दिनमा विशेषगरी पिछडिएका महिलाहरूको उद्दार गरि शिक्षा, स्वास्थ र रोजगारीको अवसर दिलाएर उनिहरूको जीवन सहज र सफल बनाउने कार्यमा लागेर अन्तर्राष्ट्रिय नारि दिवस मनाईनु पर्दछ। जहाँ नारिको सम्मान हुन्छ त्यहाँ सुखी, शान्त र समृद्ध समाजको निर्माण हुन सक्दछ ।
यस युगका महिलाहरू राजनीति, विज्ञान, शिक्षा, खेलकुद देखि व्यवसाय लगायत सबै क्षेत्रमा आफ्नो पहिचान बनाईरहेका छन् । प्रभावशाली महिलाहरूले संघर्षका अनेक मोड पार गर्दै समाजमा परिवर्तन ल्याएका छन् । उनिहरूले अनेकौं उदाहरणीय काम गर्दै गैरहेका छन् ।
११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको यस अवसरमा सम्पुर्ण महिला दिदीबहिनी, आमाहरूलाई विशेष -विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। यसैगरी महिला दिवसका अवसरमा हरेक ती मातृ शक्ति आत्म निर्भरता,सक्षमता ,सबल नेतृत्वको लागि ऊर्जा प्रदान होस् तथा यो दिवसले हरेक महिलाको स्वास्थ प्ररिक्षणमा सरकारबाट महिला लक्षित नि:शुल्क सेवा नेपालका महिलाहररू सिमित घेरा भित्र थुनिएर बस्ने समय गईसकेको छ भन्न चाहन्छु ।
(लेखिका तराई मधेस महिला फाउन्डेशन नेपालकी अध्यक्ष हुन ।)