काठमाडौं । चिनिया पक्षले चक्रपथ विस्तार दोस्रो खण्डको काममा ढिलाइ गरेपछि सडक विभाग आफैँले सडक फराकिलो पार्न थालेको छ । वसुन्धरादेखि वनस्थलीसम्म दुवैतर्फ ३–३ मिटर नयाँ कलोपत्रे गर्न लागेको हो ।
कलंकीदेखि चाबहिलसम्म चिनिया अनुदानमा दोस्रो चरणको विस्तार गर्ने सम्झौता भएको थियो । करिब ६ वर्ष अघिबाटै सडक छेउका रुखसहितका संरचना हटाउन थाले पनि अहिलेसम्म चिनियाले सडकको डिजाइन नै तयार गरेका छैनन् । चिनिया पक्षले प्रिलिमिनरी (प्रारम्भिक) डिजाइन नेपाली पक्षलाई पठाए पनि विस्तृत परियोजना प्रतिवेदन (सडकको पूर्ण डिजाइनसहित) नै नेपाललाई बुझाएको छैन । नारायणगोपाल चोकमा धेरै घर भत्काउनुपर्ने भएकाले कलंकीदेखि वसुन्धरासम्म बनाउने सहमति भएको थियो ।
तर, पनि लामो समय विभिन्न बहानामा काम हुन सकेन । काठमाडौं चक्रपथ सडक विस्तार योजनाले ठेक्का लगाएरै काम गरिरहेको छ । चिनिया पक्षले डिजाइनको काम नै नसकाएकाले फिल्डमा आएर काम गर्न अझै धेरै वर्ष लाग्ने देखिन्छ’, योजना प्रमुख कृष्णनाथ ओझाले भने, ‘डिजाइन आएर निर्माण सक्न कम्तीमा ३–४ वर्ष लाग्ने देखिन्छ । त्यो बेलासम्म थेग्नको लागि काम सुरु गरिएको छ ।’चक्रपथमा धूलो पनि धेरै भएको र मर्मत पनि गर्नुपर्ने भएकाले छेउमा केही बढाउँदा धूलो कम हुने विभागको आकलन छ ।
‘अहिले कालोपत्रे भएको सडक छेउछाउमा बिग्रियो । धूलो बढी भयो भनेर कालोपत्रे गर्न थालेका हौँ’, ओझाले भने, ‘वसुन्धरादेखि वनस्थलीसम्म सडकको दुवैतर्फ ३–३ मिटर कालोपत्रे हुन्छ ।’३ मिटर कालोपत्रे थप गर्दा दुवैतर्फ १–१ लेन जति थप हुन्छ । अब करिब ४ लेनसरह हुनेछ । छेउमा सडक थप गर्नेसँगै बीचमा भएका खाल्डाखुल्डी पनि टालिनेछ । ‘करिब साढे ४ करोड रुपैयाँको ठेक्का लगाइएको छ’, उनले भने, ‘पहिले पनि पिच भएको केही ठाउँ बिग्रिएको र धूलो बढेकाले चैतसम्म कालोपत्रे सक्याउने योजना छ ।’यता काठमाडौं कलंकीदेखि वसुन्धरासम्म ८ लेनमा विस्तार गर्न चक्रपथ सडकको विस्तृत परियोजना प्रतिवेदन बनाइरहेको चिनिया पक्षले जानकारी दिएको छ ।गत भदौमा अर्थ मन्त्रालयमा चक्रपथ विस्तारको लागि सहमतिपत्र ९एलओसी० हस्ताक्षर भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एलओसीमा हस्ताक्षरसँगै चिनियाले सडकको डिजाइन गर्न डीपीआरको काम अघि बढाउने जानकारी दिएको थियो । चिनिया अनुदानमा कोटेश्वरदेखि कंलकीसम्म सडक विस्तार भइसकेको छ । त्योसँगै दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म विस्तार गर्ने समझदारी भएको थियो । केही वर्षअघि सडक विभागले चक्रपथको ओभर ले गर्दा सरकारी रकम दुरुपयोग गरेको भन्दै आलोचना भएको थियो । तर चिनियाहरुले प्रतिबद्धताअनुसार समयमै काम नगर्दा थप कालोपत्रे गर्नुपर्ने बाध्यता छ । ‘धेरै धूलो उडेको कारण स्थानीय र यात्रुलाई धेरै अप्ठ्यारो भएकाले थप केही सडक बढाउँदा कम हुने अनुमान छ’, ओझाले भने । सडक विस्तारका लागि २०७६ कात्तिकमा नै रुख कटान भए पनि चिनिया पक्षले विभिन्न बहाना देखाउँदै काम सुरु गरेको छैन । सरकारले सडक छेउका पोल, अस्थायी संरचना हटाए पनि कोभिडलगायत कारण देखाएपछि प्रक्रिया नै अघि बढेन ।
नेपाल सरकारले सडकका दुवैपट्टि सर्भिस लेन बनाइसकेको छ । सडक निर्माण गर्न अब कुनै अवरोध छैन । लामो समय चक्रपथ विस्तार नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । पानी पर्दा हिलो र घाम लाग्नेबित्तिकै धूलो उड्दा यात्रुसँगै स्थानीयले समस्या भोग्दै आएका छन् । काठमाडौंका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए । सडक नबनाएको गाली खाएसँगै उक्त खण्ड सडक विभागको पर्ने बोर्ड नै राखिदिएका थिए । चक्रपथ विस्तार गर्दा स्वयम्भू क्षेत्रमा अहिलेका संरचनालाई यथावत् राखी सडक विस्तार गर्ने योजना छ । हालसम्मको समझदारीमा ८ लेनको सडकको बीचमा ग्रिनरी, चोकमा अन्डरपास वा ओभरपास, आकाशे पुलसहितको सडक डिजाइन बनाउने समझदारी भएको छ । कुन ठाउँमा ओभरपास, अन्डरपास, आकाशे पुस बनाउने भन्ने विषय डिजाइनसँगै टुंगिनेछ । चीनले कोटेश्वर–कलंकीको १० किमि सडक २०७५ मा सरकारलाई हस्तान्तरण गरेको थियो । धेरै ठाउँमा आकाशे पुल नहुँदा नेपाल सरकारले निर्माण गरिरहेको छ । ग्वार्को चोकमा बढी ट्राफिक भएपछि ओभरपास निर्माणाधीन छ । निर्माण कम्पनीलाई चैतसम्म सकाउने समय दिइएको छ ।