योगेश खपाङ्गी
-- मौसम पनि त्यति सफा थिएन, बिहानैदेखि धुम्म भएको थियो । तर, यसपालि भारत यात्रामा अचम्मै भयो । यस्तो अचम्म प्रायः हुँदैन । त्यो अचम्म के हो भने, निर्धारित समयमै रेलगाडी आइपुग्यो । प्रायः भारतीय रेल समयमा आइपुग्दैन । झन् धुम्मधाम्म भएको बेलामा त समयमा आउने कुनै सम्भावना नै रहँदैन । त्यसैले म अलिक ढिला गर्दै काँकरभिट्टा पुगेको थिएँ । म पुग्दा लेखक/साहित्यकार डा. ऋषिराज बराल र 'स्वतन्त्र आवाज' साप्ताहिकका प्रधान सम्पादक देवेन्द्र किशोर ढुंगाना समयमा नपुग्दा ट्रेन छुट्ला भनेर छट्पटिरहनु भएको थियो । ‘भारतको रेल कहिले चैं टाइममा चलेको छ र छटपटिनु भएको ?’ भनेर नहतारिन वहाँहरूलाई आश्वस्त पारेँ ।
ढिलो–ढाली गर्दै हामी न्यु जलपाईगुडी (एनजेपी)को ट्रेन स्टेशन पुग्यौं । जम्मुकाश्मिरबाट हिँडेको हाम्रो ट्रेन ‘विवेक एक्प्रेस’ आइपुग्ने निर्धारित समयमा नै एनजेपी आइपुग्यो र भनेकै समयमा हिँड्यो पनि । तर, मेरो हेल्चेक्र्याइँको कारणले ट्रेन छुटेन, त्यसमा मनमनै खुसी भइरहेको थिएँ ।
हाम्रो यात्रा न्यु जलपाईगुडी हुँदै उत्तर–पूर्व भारतको ‘सेभेन सिस्टर’ स्टेट अर्थात् सात दिदीबहिनीको समूह, जसमा आसाम, मेघालय, मणिपुर, नागालेन्ड, अरुणाचल, मिजोरम र त्रिपुरा राज्य सम्मको थियो । समयाभाव र अन्य विविध समस्याका कारण हामीले सबै राज्यमा पाइला टेक्न पाएनौं ।
एनजेपीबाट बिहानको १०:४५ मा छुटेको ट्रेनले राती ११ बजे गुवाहाटी पु¥यायो । त्यस रात हामी पल्टन बजारको चर्चित नेपाली मन्दिरसँगै रहेको भानुभक्त गेस्ट हाउसमा सुत्यौं । हुनत अरु गेस्ट हाउसहरू पनि खुला नै थिए । तर, किनकिन परदेशको त्यो ठाउँमा रहेको भानुभक्त नामको गेस्ट हाउसले नै तान्यो । सबै कर्मचारीले नेपाली नै बोल्ने हुनाले पारिवारिक वातावरण नै रहेको भान भयो ।
रातमा ढल्किएपछि आसामको यो बढेमानको शहरको नाम किन गुवाहाटी भयो होला भन्ने कौतुहल जागिरह¥यो । इन्टरनेटमा यो शहरको नाम गुवा अर्थात् सुपारी र पानको कारणले गुवाहाटी रहन गयो भन्ने देखायो । तर, अहिलेको चकाभक शहरमा त गुवा–पानको हाट–बजार लाग्ने गरेको रहेनछ भने यो शहरको शैशवकालमा त झन गुवा–पानको के बजार लाग्थ्यो होला र भन्ने तर्कना जाग्यो । बरु मेरो बिचारमा यो शहरको नाम गुवाबाट भन्दा पनि गौ अर्थात् गाईको नामबाट चैं बनेको हुनुपर्छ भन्ने अनुमान गरें । यो शहरको नाम गुवाहाटी बन्नुपूर्व यहाँ पक्कै पनि गाईको हाट लाग्दो हो । त्यसैले यो स्थानलाई मान्छेहरूले गौहाटी भने होलान् । पछि अप्रभंश भएर गुवाहाटी भयो होला कि भन्न पनि नसकिने त होइन नि !
भोलीपल्ट बिहानैको गाडी पक्डेर मेघालयको राजधानी सिलोङ तर्फ हुँइकियौं । गुवाहाटी र सिलोङ जोड्ने रेल वे ट्रयाक बनाइएकै रहेनछ । निक्कै ठूलो जाम छिचोलेर फेरि हामी नेपालीहरूको बाक्लो बस्ती भएको बारापत्थर, इस्ट खासीमा रहेको पशुपती गेस्ट हाउसमा बास बस्यौं । सो गेस्ट हाउस पनि एकजना नेपालीले नै सञ्चालन गर्नुभएको रहेछ । स्थानीय सबैजनाले प्रष्ट नेपाली भाषा बोल्ने हुनाले भाषाको कुनै समस्या भएन ।
त्यही साँझ हामीलाई भेट्न स्थानीय नेपालीभाषी अखबार ‘कोशेली’ साप्ताहिकका प्रधान–सम्पादक राजेन्द्र खनाल सहितको टोली आइपुग्यो । वहाँहरूले खदा ओडाइदिँदा हाम्रो मन मैन झैं पग्लिएको थियो । वहाँहरूले दिएको जानकारी अनुसार मेघालय राज्यमा करिब ४० हजारको संख्यामा नेपालीभाषी भारतीयहरूको बसोबास रहेको रहेछ भने २२ वटा त नेपाली भाषा पढाइ हुने विद्यालयहरू नै रहेछन् ।
भोलीपल्ट बिहानै डा. बराल स्थानीय नेपालीभाषी साहित्यकारहरूसँग भेटघाट गर्न लाग्नुभयो । वहाँको मिसन नेपाली साहित्यमा असमेली साहित्यकारहरूको योगदानको विषयमा खोजीमेली गर्नुथियो । तर, हामी (देवेन्द्र किशोर ढुंगाना र आफू) चैं सिलोङबाट ७२ किलोमिटर टाढा रहेको सन्साकै सबैभन्दा बढी पानी पर्ने रेकर्ड राखेको मसिनराम तर्फ लाग्यौं । मसिनरामको पानी पर्ने रेकर्ड नापतौल गरिनु अघि चेरापुँजीलाई नै सन्सारको सबैभन्दा बढी पानी पर्ने स्थानको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ज गरिएको थियो ।
मसिनरामले गरेको नमिठो तिरस्कार :
भोलीपल्ट डा. बराल स्थानीय नेपालीभाषी साहित्यकारहरूसँग भेटघाट गर्न लाग्नुभयो । वहाँको मिसन नेपाली साहित्यमा असमेली साहित्यकारहरूको योगदानको विषयमा खोजीमेली गर्नु थियो । तर, हामी (देवेन्द्र किशोर ढुंगाना र आफू) चैं सिलोङबाट ७२ किलोमिटर टाढा रहेको सन्साकै सबैभन्दा बढी पानी पर्ने रेकर्ड राखेको मसिनराम तर्फ लाग्यौं ।
मसिनराम भन्दा चेरापुँजी निक्कै राम्रो छ भन्ने हामीले सुनेका थियौं । तर, हामीलाई संसारकै सबैभन्दा ओसिलो ठाउँ मसिनराम नै पुग्नुथियो ।
जाँदा हामी त्यहाँ एउटा पब्लिक ट्याक्सीमा चढेर गयौं । ट्याक्सीमै चढेका यात्रुमध्ये एकजनाले चाँही नेपाली भाषा र हिन्दी अलि–अलि बोल्नेरहेछन् । कटौले उमेरका तिं मित्र खासी समुदायका रहेछन् । उनि चैं मसिनराम पुग्नुभन्दा केही अगाडि नै उत्रिए ।
उत्रिँदा–उत्रिँदै उनले चेतावनी दिए, ‘त्यहाँको गल्ली–गल्लीमा चैं नछिर्नु है । लुटपाट हुनसक्छ ।’
जे त होला भनेर हामी चैं मसिनराम पुगेरै छाड्यौं । त्यहाँको सानो बजारको प्रायः भित्तामा पान खाएर चुना पोतिएको दाग नै दाग थियो । प्रायः स्थानीयहरू नयाँ मान्छेसँग बोलचाल गर्न मनपराउँदा रहेनछन् । मुस्किलले कोही–कोहीले मात्र हिन्दी बुझ्ने रहेछन्, त्यसले उनिहरू हामी जे सोधे पनि मुखमा गुवापानको बिटो हालेर ट्वाल्ट्वाल्ती मुखमा हेर्थे ।
त्यहाँ पुग्दा हाम्रो पेटमा मुसा दौडिन थालिसकेको थियो । मैले चैं त्यहाँको एउटा रेस्टुराँमा खासि परिकार खाएँ । देवेन्द्र सरले चैं केही खान मान्नुभएन ।
गाडीबाट उत्रिने बित्तिकै शहरको गेटमा अंग्रेजीमा लेखिएको थियो, ‘बेलुका ६ बजे देखि बिहान ६ बजेसम्म शहरभित्र पस्न मनाही छ ।’ त्यसपछि चैं ट्याक्सीका सहयात्रीले दिएको चेतावनी सम्झेर झटपट त्यहाँबाट सिलोङको बस समातेर कुलेलम ठोक्यौं ।
लिखापानीमा जयमायाको खोजी :
मसिनरामबाट बस चढेर फेरि सिलोङको झालुपाढा फर्कियौं । भोलीपल्ट बिहानै हामी गुवाहाटी पुगेर तीनसुकियाको ट्रेन पक्डियौं । रातीको साढे एघारबजे तिनसुकिया पुगियो । तिनसुकिया भारतका अरु शहरजस्तो रहेन रहेछ, सम्साँझै सुत्दोरहेछ ।
तिनसुकियामा रातभरी हावा–हुरी चल्यो । बिहानै नेपालीभाषी भारतीयहरूको घना बसोबास भएको जागुन तर्फ लागियो । बसमा पनि प्रशस्तै नेपालीभाषी भेटियो । झापा जस्तै सम्म भूमी, सुपारी र नरिवलका बोट जतासुकै देखिने ।
जागुन पुुग्नु अगावै लिखापानी मार्गरिटा भन्ने स्थानमा टिका भट्टराई सर चोकमा रहेको भानुभक्तको शालिक अघि पर्खिरहनुभएको थियो ।
अटोरिक्सा चालक देखि किराना दोकानेसम्म सबै नेपालीभाषी रहेछन् । स्थानीय साहित्यकार भीम धमलासँग भेटघाट भयो । वहाँहरूले आसामी गम्छा लगाइदिएर स्वागत गर्नुभयो । केही बेर भलाकुसारी पछि हामी जागुन पुग्यौं ।
जागुनदेखि वर्मा सिमाना चालीस किलोमिटर टाढा पर्ने रहेछ । त्यहींबाटै अरुणाचल हुँदै चीन पुग्ने बाटो पनि छुटिँदो रहेछ । दुई देशको सिमानामा पर्ने हुनाले त्यो स्थानको सामरिक महत्व निकै नै रहेछ । त्यसैले जागुन नजिकै लिखापानीमो गोर्खा रेजिमेन्ट राखिएको रहेछ । तिनै गोर्खा परिवारका कारण त्यस क्षेत्रमा छ्याप्पै नेपालीभाषीहरूको बसोबास भएको रहेछ ।
जागुनमा असम गोर्खा सम्मेलन, मार्गरिटाका सभापति टिकाराम पाण्डेसहित स्थानीय साहित्यकारहरूसँग भेटघाट गरियो ।
असम सरकारले गोर्खा पहिचान प्रमाण दिने अधिकार असम गोर्खा सम्मेलनलाई दिएको रहेछ । सम्मेलनको अगुवाहीमा चार हजारभन्दा बढी नेपालीभाषीलाई असमको पहिचानपत्र प्रमाण दिइएको रहेछ ।
मिठो वार्तालाप पछि पाण्डे सरले हामीलाई लिखापानी जाने बसमा चढाइदिनु भयो । परसम्म हात हल्लाएर बिदाबारी भयौं ।
त्यस रात जागुनभन्दा पन्ध्र किलोमिटर उत्तर–पश्चिममा रहेको लिखापानी, विसा गाउँमा टिकासरकोमा बास बस्यौं ।
वहाँकोमै एउटा निकै दुर्लभ पुस्तक फेला प¥यो । तत्कालीन बर्मामा ब्रिटिस गोर्खा रेजिमेन्टमा कार्यरत नन्दलाल रसाइलीको पुस्तक ‘बर्मादेखि भारत, १९४२ एक संस्मरण (दोस्रो विश्वयुद्धको समय बर्मादेखि पलायनको विशद सम्झना)’ । पुस्तकमा बर्मेलीहरूको दैनिक जीवन, जापानी सेनाले बर्मामा गरेको आक्रमण र अत्याचारको शव्दचित्र सरल भाषामा लेखिएको छ । त्यसमा बर्मा छोडेर भारतभूमीमा नेपालीभाषीहरू कसरी फर्किए । फर्किंदा कस्तो–कस्तो दर्दनाक घटना भयो भन्ने मिहिन वर्णन गरिएको छ ।
पुस्तक पढ्दा यस्तो लाग्यो, मानौं कथाकार इन्द्रबहादुर राईको चर्चित कथा ‘जयमाया आफूमात्र लिखापनी आइन्’ यसै पुस्तकलाई आधार मानेर लेखेहोलान् । रसाइलीले लेखेको पुस्तकको मुख्य पात्र उनि आफै हुन् भने राईको कथाको मुख्य पात्र जयमायालाई बनाइएको छ । घटनाक्रम उही हो, पात्र मात्र फरक हो ।
त्यो पुस्तक हातलागेपछि मलाई लाग्यो, वास्तवमै मैले लिखापानीमा जयमायालाई फेला पारें ।
लिखापानीको बसाई पछि लिडो भन्ने स्थानबाट गुवाहाटी, गुवाहाटीबाट न्यु जलपाइगुढीको ट्रेन पक्डिएर प्यारो देश नेपाल फर्कियौं ।