मुक्कुमलुङको आन्दोलन कहाँ पुग्यो ?
अहिले हामी पदयात्रामा छौं । दोस्रो चरणको आन्दोलनमा छौं । पहिलो चरणको आन्दोलन सरकारसँग वार्ता गरेर छ बुँदे सहमती गरेपछि त्यसलाई स्थगन गरेर पुनः दास्रो चरणको आन्दोलनलाई बढाइरहेका छौं । दास्रो चरणको आन्दोलन अघि बढिरहँदा पनि राज्य त्यती धेरै गम्भीर भइरहेको अवस्था हामीलाई लागिरहेको छैन । राज्यले आन्दोलनरत पक्षलाई अविलम्भ सम्बोधन गरेर अहिले उठिरहेको समस्यालाई समाधान गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । वार्ता र सम्वादबाट नै अब जुन समस्याहरू उठेका छन्, वार्ताको बाटोमा जान सकिएमा कम क्षति हुन्छन् र आन्दोलनलाई निरुपण गर्न सकिन्छ । आन्दोलनलाई घटाउन सकिन्छ । अहिले मुक्कुमलुङको जुन विषय उठिरहेको छ, हामी विभिन्न धार्मिक, सांस्कृतिक र संस्कार मान्नेहरूको आस्थाको धरोहर हो । मुक्कुमलुङ भनेको धार्मिक स्थल हो । मुक्कुमलुङ धार्मिक स्थलको रुपमा नै रहन दिनुपर्छ । धार्मिक स्थललाई राज्यले पर्यटक स्थलसँग जोडेर त्यहाँ भएका जैविक विविधतालाई दोहन गरेर धार्मिक स्थललाई सांस्कृतिक आस्था माथि आक्रमण गर्ने काम निन्दनीय छ भन्ने हामीले महशुस गरेका छौं ।
अहिले भइरहेको मुक्कुमलुङ आन्दोलनको क्रममा सरकारसँग भएका प्रदेश र सचिव स्तरीय वार्ता पछि आन्दोलनको अवस्था कस्तो छ ? वार्ताको निश्कर्ष के छ ?
हामीले उठाएको माग हो । वार्ता समिति मन्त्रीस्तरीय हुनुपर्छ भन्ने आशयबाट बढी रहेका छौं । अहिले कर्मचारीहरूबाट भएको वार्ताले सही ढंगले टुंग्याउँदैन भन्ने हाम्रो ठम्याइ छ । हाम्रो माग मन्त्रीस्तरबाट हुनुपर्छ । पहिले कर्मचारीबाट भएको वार्ता सुरु मात्र भएको छ । निश्कर्षका लागि मन्त्रीस्तरीय वार्ता हुनुपर्छ । राज्य अहिले यो विषयमा गम्भीर नभएको र राज्य के चाहन्छ ? के राज्यले देशमा अस्थिरता चाहेको हो त ? राज्यले देशमा जहिले पनि अस्थिरता चाहेको हो भन्ने देखिन्छ । अर्को विषय भने यदी राज्यले यो देशलाई बहुजातीय, बहुभाषीय, बहुसंस्कृतीको देश भन्ने हो भने सबै धर्मसंस्कार र संस्कृतीलाई बचाउने हो भने आज एउटा व्यक्तिलाई योजना जिम्मा लगाएर जुन हिसाबले अघि बढिरहेको छ, धर्म संस्कार माथिको आक्रमण गर्ने काम भएको छ । यो के भन्ने मलाई लाग्छ भने हाम्रो रैथाने संस्कार–संस्कृतिलाई मासेर एक जाती, एक धर्मको देश बनाउन खोजेको बुझाइ छ । यो बुझाइबाट हामी माथि उठेर राज्यले सबै धर्म संस्कारलाई बचाउन चाहन्छ भने सनातन धर्मसंस्कार र संस्कृतीलाई नै मान्ने हो भने मुक्कुमलुङलाई अविलम्ब संबोधन गर्न आवश्यक छ । त्यो सम्बोधन गर्न सकियो भने मात्र पनि यहाँका जात–जाती, भाषा–भाषीलाई जगेर्ना सकिन्छ भन्ने हाम्रो ठम्याइ पनि हो । त्यो सँगै अर्को विषय पनि के रहेको छ भने मुक्कुमलुङमा केवल कार बन्दै गर्दा माथिबाट हेर्दा झट्ट विकासजस्तो देखिन्छ, त्यो विकासको रुपमा होइन, बिनासको रुपमा आएको छ । त्यसकारणले त्यहाँ हजारौं मानिस रोजगारविहीन भएका छन् । त्यहाँ केवल कार बन्दै गर्दा भोली सिमित पूँजीपती वर्गको मात्र आम्दानीको स्रोत बन्ने छ । र, हजारौं संख्यामा रहेका मानिसहरू वेरोेजगार बन्नेछन् । हजारौं व्यक्तिको रोजगारी एउटा पूँजीपतिको पोल्टामा हाल्ने काम राज्यले गरेको छ । राज्य यसरी अगाडि बढ्नु हुँदैन । किनभने त्यो सरकारले गरिरहेको काम होइन । भोली त्यहाँका हजारौंका संख्यामा रहेका भुइँमान्छेहरू वेरोजगार बन्न पुगिरहेका छन् । हामी उनिहरूको पक्षमा उभिएका हौं । त्यहाँ केवल कार बन्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो । अर्को विषय केवल कार भनेको मनोरञ्जनसँग जोडिने विषय हो । केवल कार पर्यटनसँग जोडिने विषय हो । केवल कार जोडिने भएको कारणले त्यो धार्मिक स्थलको महत्वलाई पर्यटकीय स्थलले अतिक्रमण गर्ने, हस्तक्षेप गर्ने देखिन्छ । एकले अर्कालाई हस्तक्षेप गर्दै जाने हो भने हामी कोही पनि रहँदैनौं । केवल कारकोे विरोध गरिरहँदा विकासको विरोध गरेका होइनौं । हामीले त्यसकालागि विरोध गरेका हौं, केवल कारले त्यहाँ रहेका तमाम जातीमाथि संस्कार–संस्कृतिको अतिक्रमण गर्ने काम गरिरहेको छ । त्यसलाई संरक्षण गर्नुपर्छ । जगेर्ना गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो । आज राज्यले जसरी निर्मम ढंगले गोली हानेर त्यहाँ जुन हिसाबले अगाडि बढ्ने काम ग¥यो, जनताालाई गोली हामेर विकास गरेको भन्नु गलत हुनेछ । आज त्यहाँका जनता विकास नै हो भने किन आन्दोलित छन् ? त्यहाँ मुक्कुमलुङमा त्यहाँकै जनताले आन्दोलन गरिरहेका छन्, न कि बाहिरबाट गएर आन्दोलन गरेका छैनन् । त्यहाँ तथाकथित ¥याली निकाल्दैमा, तथाकथित मानिसले केवल कार बन्न स्विकार छ भन्दैमा सबैलाई स्विकार्य हुन सक्दैन । सर्वस्विकार्य भन्न र सर्वस्विकार्य बनाउनु फरक कुरा हो । हामी भने के देखाउन खोजिरहेको छौं भने सर्वस्विकार्य बनाउन खोजेका छौं । त्यो चाहना र इच्छाबाट अगाडि बढिरहेका छौं । राज्यले अविलम्ब यो आन्दोलनको मागहरूलाई सम्बोधन गर्नुपर्छ र वार्ता र सम्वादबाट समाधान गर्नुपर्छ ।
प्रदेश नम्बर एक पुनः नामाकरण संघर्ष समितिको आन्दोलन चलिरहँदा अहिले त्यो आन्दोलन मुक्कुमलुङको आन्दोलनमा रुपान्तरण भएको छ । वास्तवमा अहिले के भइरहेको छ ?
प्रदेश नम्बर एकको नाम कोशी हुनुहुँदैन । यो पहिचानको आन्दोलन हो । एक पहिचानको आन्दोलन, अर्को पहिचानको आन्दोलनसँग निश्चय पनि जोडिन्छ । मुक्कुमलुङ र पाथिभरा पहिचानको आन्दोलनसँग जोडिएको छ । विभिन्न धर्महरू मान्नेहरूको आस्थासँग जोडिएकोले त्यो पहिचान हो । पहिचान भएको कारणले गर्दा विगतदेखि उठिरहेको ‘नो कोशी’ र पहिचानको आधारमा प्रदेश नम्बर एकको नामाकरण गर्नुपर्छ भन्ने विषय एउटै उद्धेश्य भएकोले पनि सो एउटै ठाउँमा आएको हो भन्ने लाग्छ । यो संयोग पनि हो । नो कोशीको आन्दोलनकर्ताले यो उठाएको हो भने होइन । यो सबै भाषा–भाषी, जात–जाती संस्कार बोकेका मानिसहरू जोडिएका छन् । यो नियतवस जोडिएको होइन ।
कोशी खारेजको आन्दोलन कहाँ पुगेर रोकिएको छ ?
नो कोशीको आन्दोलन निरन्तर चलिराखेको छ । हामीले ढुंगामुढा गर्न सडकमा निस्किनु नै आन्दोलन हो भन्ने बुझ्नु भएन । अहिले वैचारिक रुपमा आफ्नो मागहरू उठाइराखेकै अवस्था हो । आन्दोलनको स्वरुप परिवर्तन भएको हो ।
नो कोशीको आन्दोलनको सन्दर्भमा सरकार पक्षले साझा नाम दिन प्रस्ताव गरेको अवस्थामा साझा नाम के हुनसक्छ ? नामलाई लिएर विवाद रहेको छ भन्ने सुनिन्छ । वास्तविकता के हो ?
प्रदेश नम्बर एकको नाम यही हुनुपर्छ भन्ने हाम्रो रटान त होइन । न्युनतम सहमति यसमा जुटाउन सकिन्छ । यहाँ किरातको पनि अस्तित्व छ । लिम्बु र कोचिलाको पनि अस्तित्व छ । यीं क्लस्टरहरूलाई सम्बोधन हुनेगरि नाम आयो भने हामी त्यसमा हाम्रै हुनुपर्छ, हामीले भनेकै हुनुपर्छ भन्ने भनेका पनि छैनौं ।