भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थी प्रकृति लम्साल मृत्यु भएपश्चात त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू नेपाल फर्कने क्रम जारी छ । घटनाका दोषी छ जनालाई पक्राउ गरि कार्वाही गर्ने पक्रिया अघि बढेको छ भने नेपाल स्थित भारतीय राजदूतावासले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबिचको स्थायी जनस्तर सम्बन्धका महत्वपूर्ण पक्ष हुन् । भारत सरकारले भारतमा नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्नेछ भनी प्रेस विज्ञप्ती जारी गरेको छ ।
नेपाली विद्यार्थीहरू उच्च शिक्षा लिन भारत, चीन, बंगलादेश, युरोप, अमेरिका वा अन्य विभिन्न देश जाने क्रम नयाँ भने होइन तर प्रकृति लम्सालको मृत्यु पश्चात नेपालको शिक्षा प्रणालीलाई सुधार गरि देशमा उच्च शिक्षा लिन सक्ने वातावरण बनाउनुपर्ने कुरामा बहस गर्नु आवश्यक भएको छ ।
नेपालीहरू अध्ययनका लागि विदेश जानु नौलो कुरा होइन । वितेका सयौं वर्ष तथा हालका वर्षहरूमा पनि धेरै नेपाली युवाहरू शिक्षा र रोजगारको खोजीमा विदेश गइरहेका छन् । यो प्रवृत्ति केवल एक व्यक्तिगत निर्णय नभएर, देशको अर्थतन्त्र र विकासका लागि पनि गम्भीर चुनौतीको रूपमा उभिएको छ । यसैले, शिक्षाको नाममा नेपालीहरूको विदेश पलायन रोक्नका लागि प्रभावकारी कदमहरू उठाउनु आवश्यक छ भन्ने तर्फ अब ढिलाइ गर्नुहुँदैन भन्ने निर्देश दिएको छ ।
नेपालीहरू विदेश जानुका प्रमुख कारणहरूमा शिक्षाको गुणस्तर र रोजगारको कमी समावेश छन् । नेपालमा विषय शिक्षकमात्र नभएर योग्य शिक्षकहरूको पनि अभाव रहेको छ । यसबाट विद्यार्थीहरूको ज्ञान र सीपमा कमी आउने गर्दछ । यदि राष्ट्रिय स्तरमा शिक्षाको गुणस्तर सुधार गर्न सकियो भने, धेरै युवा विदेश जानको लागि बाध्य हुने छैनन् । तसर्थ, नेपालमा प्राविधिक र विषय शिक्षकहरूको उपलब्धता सुनिश्चित गर्नुपर्छ भने नेपालका विश्वविद्यालयहरूको उस्तरोन्नतीमा पनि ध्यान दिनु पर्छ । उच्च शिक्षा संस्थाहरूमा गुणस्तरीय शिक्षण र अनुसन्धानको वातावरण बनाउन आवश्यक छ । विश्वविद्यालयहरूले उद्योगसँगको साझेदारीमा काम गर्ने र प्राविधिक शिक्षा र तालिममा विशेष ध्यान दिनुपर्नेछ । यसले विद्यार्थीहरूलाई व्यावसायिक सीपमा दक्ष बनाइ, रोजगारको अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ ।
विदेशमा अध्ययन गरेर आउने विद्यार्थीहरू जब नेपाल फर्कन्छन्, तिनीहरूको ज्ञान र अनुभव देशको विकासमा लाभ लिनु देशकालागि महत्वपूर्ण पक्ष हुन्छ । तर, यहाँ रोजगारीको ज्ञारेन्टी नहुँदा तिनीहरूले विदेशमा नै स्थायी बसोबास गर्ने निर्णय गर्नुपर्ने अवस्था आउनु देशका लागि घातक विषय हो । यसले देशका बौद्धिक व्यक्तित्व गुमाउन मात्र होइन, आर्थिक क्षति पनि पु¥याएको छ ।
नेपालमा शिक्षाको सुधार गर्नका लागि सरकारी र निजी क्षेत्रका बीचमा सहकार्य आवश्यक छ। सरकारले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आवश्यक बजेट र साधनको सुनिश्चितता गर्नुपर्छ। यसका साथै, निजी क्षेत्रले पनि शिक्षा क्षेत्रमा लगानी गर्नुपर्दछ जसले गर्दा शिक्षाको गुणस्तर सुधार्नमा मद्दत पुगोस् ।
युवाहरूको पलायन रोक्नका लागि सरकारले विभिन्न रणनीतिहरू अपनाउन सक्छ । उदाहरणका लागि, छात्रवृत्ति योजनाहरूको प्रवर्तन, स्थानीय उद्योगहरूको विकास र रोजगार सिर्जना गर्ने कुरामा ध्यान दिनुपर्छ । त्यसैगरि बौद्धिक सम्पत्ति संरक्षणमा कढाई गरि विभिन्न शिक्षा सम्बन्धी विविध परियोजनाहरूमा व्यापक लगानी बढाउनुपर्छ । यसले युवा वर्गलाई नेपालमै रहने र आफ्नो देशको विकासमा योगदान दिन प्रेरित गर्नेछ ।
शिक्षा नै देश निर्माणको मूल आधार हो, र यसलाई सुधार्न सफल भएमा, नेपालले भविष्यमा उज्यालो र समृद्ध बनाउने सम्भावना छ ।