नेपाल एक बहुजातीय र बहुभाषिक देश हो, जहाँ विभिन्न जातिहरू, संस्कृतिहरू र परम्पराहरूको सहअस्तित्व छ । तर, यस अद्भुत विविधता बीच पनि जातीय भेदभाव र छुवाछूतको खाडल गहिरो छ । 

जातीय भेदभावको कारण केलाउँदा धेरै लामो इतिहासको चर्चा गर्न आवश्यक हुन्छ । तर सामान्यतया हामी मुख्य कारणको रुपमा धार्मिक, सामाजिक र आर्थिक संरचनालाई लिन सक्छौं । नेपालमा परम्परागत रूपमा, उच्च जातिहरूलाई विशेष अधिकार र सुविधाहरू प्रदान गरिएको छ । जबकि निम्न जातिहरूलाई आरक्षण र सुविधा दिइएको त छ, घुमाफिराई घिउ पोख्ने बेलामा राखिएको छ तथाकथित उपल्लाहरूकै भागमा पोख्ने गरिन्छ । आरक्षणबाट नीति निर्माणका तहमा पु¥याइएकाहरूलाई फेरि पनि दलीत÷अस्पृष्यकै व्यवहार गरिन्छ । यसले विभिन्न समुदायहरू बीचका सम्बन्धहरूमा तनाव र शत्रुताको जन्म दिएको छ ।

सामाजिक संरचना र परम्परागत मान्यताले जातीय भेदभावलाई अझ बलियो बनाएको छ । जातीय पहिचान र सामाजिक स्थिति मानवीय व्यवहारलाई प्रभावित गर्ने प्रमुख कारक बनेका छन् । उच्च जातिहरूका व्यक्तिहरूले कथित निम्न जातिका व्यक्तिहरूसँग भेदभावजन्य व्यवहार गर्ने र विहेवारी तथा धार्मिक क्रियाकलापमा घुलमिल गराउन नचाहने प्रवृत्ति देखाउँछन्, जसले गर्दा छुवाछूतको समस्या ज्युँकात्युँ रहेको देखिन्छ । बाहिरी आवरण र बोलीचालीमा मात्र छुवाछूत हटेको छ, तर त्यसको गर्तमा अझै परम्परागत मान्यता जिवितै छ ।

छुवाछूतले समाजमा धेरै ठूलो संख्यामा रहेका दलीतहरुमा विभाजन र अलगावको भावना पैदा गर्दछ । यसले मानिसहरूलाई मानसिक र भावनात्मक रूपमा पनि चोट पुर्याउँने गरेको छ । ठाउँमा ‘आफ्ना’ मान्छेहरू नुहुँदा उनिहरूले शिक्षा, स्वास्थ्य, र रोजगारका पहुँचमा कठिनाइहरू भोग्नुपर्छ । यसले उनीहरूको जीवनस्तरमा कमी ल्याउँछ र समग्र समाजको विकासमा अवरोध पुर्याइरहेको छ ।

नेपालका संविधानमा सबै नागरिकलाई समानता र न्यायको अधिकार दिइएको छ । यसका साथै, विभिन्न कानुनी धाराहरूले जातीय भेदभाव र छुवाछूतलाई दण्डनीय अपराधको रूपमा परिभाषित गरेका पनि छन् तर कायान्वयन पक्षमा खासै जोड नदिएको हुँदा त्यसको समस्या दलीत समुदायले भोग्नु परिरहेको छ । धेरै पटक, पीडितहरूले न्याय पाउनका लागि आवश्यक सहयोग र सुरक्षा प्राप्त गर्न सक्दैनन् । यसमा राज्यका तीनै तह, न्यायालय, प्रहरी–प्रशासन र अन्य सरकारी निकायहरूको चासो र जिम्मेवारी महत्वपूर्ण हुन्छ ।

जातीय भेदभाव र छुवाछूतको अन्त्यका लागि केवल कानुनी कदमहरू मात्र पर्याप्त हुँदैनन् । समाजका हरेक सदस्यले यस मुद्दामा सचेत रहनु र योगदान दिनु आवश्यक छ । यसलाई कुनै खास जाती विशेषको समस्याको रुपमा नहेरी मानवता र मानवअधिकारको सवालको रुपमा सबैले हेर्न आवश्यक छ । त्यसलगायत सिमान्तीकृत र दलित समूदायको आत्मसम्मान र जिवोस्तर सुधारका निम्ति शिक्षा र जागरूकता कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्छ । विभिन्न जातिहरूका बीचमा सहिष्णुता र आपसी सम्मानको भावना विकास गर्न सभ्य नेपाली समाजका लागि अति महत्वपूर्ण कुरा हो । 

वास्तवमा जातीय भेदभाव र छुवाछूत नेपालको लागि एक अभिसाप हो । हामी सबैले मिलेर यस समस्यालाई समाप्त गर्नका लागि संघर्ष गर्नु पर्छ । जातीय भेदभाव र छुवाछूतको चक्रलाई तोड्नका लागि सच्चा प्रयास गर्न आवश्यक छ, जुन हाम्रो समाजको भविष्यको लागि अत्यन्त आवश्यक छ ।