इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा सात करोड ६६ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलगायत विभिन्न पाँचवटा शिर्षकबाट चालु आव २०८१/०८२ को साउन १ देखि फागुन मसान्तसम्म सात करोड ६६ लाख ७१ हजार नौ सय १३ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिए ।

कार्यालय प्रमुख मैनालीका अनुसार चालु आवको ८ महिनामा यातायात क्षेत्रको आम्दानीबाट ८० लाख ५६ हजार १५, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट ९६ हजार र चालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लु बुक) सम्बन्धी दस्तुरबाट एक करोड ३४ लाख ४६ हजार तीन सय ५५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै प्रशासनिकदण्ड, जरिवान र जफतबाट दुई हजार र सवारीसाधन करबाट पाँच करोड ५० लाख ७१ हजार पाँच सय ४३ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरस्थित सवारी पटेक बाटो इजाजत राजस्व असुली केन्द्रबाट ६६ लाख ३४ हजार नौ सय १० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख मैनालीले जानकारी दिए । यातायात व्यवस्था सेवा कार्यालयकै मातहतमा रहने गरी अघिल्लो वर्ष पशुपतिनगरमा राजस्व असुली केन्द्र स्थापना भएको थियो ।

यातायात व्यवस्था सेवा कार्यालयले अघिल्लो आव २०८०/०८१ मा विभिन्न शिर्षकमा १० करोड ९८ लाख ७४ हजार तीन सय ७३ राजस्व सङ्कलन गरेको थियो । यातायात क्षेत्रको आम्दानीबाट ५८ लाख ४३ हजार छ सय ८०, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट १३ हजार, चालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लु बुक) सम्बन्धी दस्तुरबाट एक करोड ९५ लाख ८५ हजार १५ र सवारीसाधन करबाट आठ करोड ४४ लाख ३२ हजार छ सय ७८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

आलु आवमा अनुमानभन्दा बढी राजस्व सङ्कलन हुने कार्यालय प्रमुख मैनालीले बताए । ‘हाम्रो कार्यालयको संरचनाअनुसार राजस्व सङ्कलन हुने मुख्य सिजन चैत र असार हो, फागुनसम्म ७ करोड बढी राजस्व सङ्कलन भइसकेको छ,’ उनले भने, ‘यस वर्ष १३ करोडको हाराहारीमा राजस्व सङ्कलन हुने हाम्रो अनुमान छ ।’

यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्लाहरु पाँचथर र ताप्लेजुङभएपनि झापासहितका सेवाग्राहीहरु समेत सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख मैनालीले बताए ।