काठमाडौँ । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले पद बहाल गरेको १० दिनमै अप्रिल २८ तारिखका लागि सङ्घीय संसदको नयाँ निर्वाचन मिति घोषणा गरेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बन्न धम्की दिने र निर्यात शुल्क बृद्धि गरेको पेचिलो स्थितिबीच कार्नीले मतदातासँग बहुमत माग गर्दै नयाँ निर्वाचन घोषणा गरेका हुन् ।
ह्वाइट हाउसमा ट्रम्पको पुनरोदय र अमेरिका–क्यानडा सम्बन्ध बिग्रँदै गएपछि प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा गरेका थिए । त्यो रिक्ततालाई पुर्दै क्यानडाको सत्तामा कार्नीको आकस्मिक उदय भएको थियो।
जनवरी ६ मा प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ दल लिबरल पार्टीको नेता र प्रधानमन्त्री दुवै पदबाट राजीनामाको घोषणा गरेपछि नयाँ पार्टी नेताका लागि भएको चुनावमा पूर्वबैङ्कर तथा केन्द्रीय बैङ्कका गभर्नर ५९ वर्षीय कार्नीले करिब ८६ प्रतिशत मत प्राप्त गरेका थिए । पार्टी नेतृत्वको लागि कार्नीले पाएको मतलाई ‘भीषण विजय’ मानिएको थियो ।
मार्च १४ उनले क्यानडाको २४औं प्रधानमन्त्री भएको शपथ लिए । तर, संसदमा लिबरल पार्टीको एकल बहुमत थिएन । ३४३ सिटको क्यानडाली हाउस अफ कमन्समा लिवरल पार्टीको १५३ सिट मात्र थियो । पार्टीले गठबन्धन सरकारको नेतृत्व गरिरहेको थियो । सरकारले विश्वासको मत गुमाउने र गठबन्धन भत्किने सम्भावना बढेपछि उनले नयाँ निर्वाचनको घोषणा गरेका हुन् ।
अर्कोतिर प्रधानमन्त्री कार्नी पार्टी नेता निर्वाचित भए पनि हाउस अफ कमन्सको सदस्य थिएनन् । यसकारणले पनि उनी छिट्टै नयाँ चुनावमा जान बाध्य भएको हुन्।
योभन्दा महत्वपूर्ण कुरा अमेरिकी धम्कीको सामना गर्न क्यानडालाई बलियो जनसमर्थन र अनुमोदन प्राप्त नेतृत्व चाहिएको छ । ट्रम्पको धम्की र त्यसले सृजना गरेका चुनौतिबीच कार्नीले आफ्नो नेतृत्वलाई जनसमर्थनको कसीमा परीक्षण गर्न चाहेका छन् ।
घोषित निर्वाचनमा उनको दलले विजय हासिल गर्न नसके दुई महिना नपुग्दै उनले प्रधानमन्त्री पद गुमाउन पर्नेछ ।
नयाँ पार्टी नेता र प्रधानमन्त्रीका रुपमा उनले ट्रुडोकालीन नीतिलाई नै अनुशरण गरिरहेका छन् । उनले दृढ भाषामा प्रष्ट ढङ्गले भनेका छन्, ‘ क्यानडा अमेरिकाभन्दा एक भिन्नै राष्ट्र हो, हामी कहिल्यै विलय हुने छैनौं ।’ साथै, उनले अमेरिकामाथि प्रतिरोध शुल्क पनि कायमै राखेका छन् ।
क्यानडा अमेरिकाको दशकौं लामो मुख्य व्यापार साझेदार हो । दुवै देश नाटोका सदस्य छन् । क्यानडा र अमेरिकाले संसारकै सबैभन्दा लामो स्थलसीमा साझेदारी गर्दछन् । मुख्य छिमेकी, नजिकको मित्र र एउटै सुरक्षा सम्झौताभित्र भएको देशबाट सार्वभौमसत्तामै खलल पर्ने चुनौती सामना गर्नु परेपछि क्यानडाली चुनावको मुख्य एजेन्डा नै यही हुने भएको छ ।
नयाँ चुनावको घोषणासँगै प्रधानमन्त्री कार्नीले भने– हामी देशको इतिहासमै सबैभन्दा ठूलो सङ्कट सामना गरिरहेका छौं । सबैभन्दा नजिकको छिमेकी र साझेदार देशले नै हामीलाई अन्यायपूर्ण शुल्क लगाएको छ । हाम्रो सार्वभौमत्ताको अपमान गर्दै धम्की दिएको छ । यस्तो बेला क्यानडाली जनता देशमा कस्तो नेतृत्व र सरकार चाहन्छन् भन्ने निर्वाचनबाट प्रष्ट जनादेश प्राप्त हुनेछ ।
उनले आफ्नो पार्टीलाई प्रष्ट बहुमत दिनसमेत मतदातासँग आग्रह गरे ।
मार्च ९ मा नयाँ पार्टी नेता निर्वाचित हुनुअघि कार्नी प्रधानमन्त्री ट्रुडोका आर्थिक सल्लाहकार थिए । उनीसँग क्यानडा र बैङ्क अफ इङ्ग्ल्यान्ड दुई देशका केन्द्रिय बैङ्कको गभर्नरको जिम्मेवारी सम्हालिसकेको अनुभव छ । सन् २००८ को वित्तीय सङ्कटबाट देशलाई जोगाएको जस उनलाई दिने गरिन्छ ।
कार्नीअघि ट्रुडोले १३ वर्ष लिबरल पार्टीको नेतृत्व गरेका थिए ।
लिबरल पार्टीको मुख्य प्रतिस्पर्धी दल कन्जर्भेटिभ पार्टी हो । यसका नेता अहिले ४५ वर्षीय पियरे मार्सेल पोइलीभ्रे छन । उनी सन् २०२२ यता विपक्षी दलको नेता रहँदै आएका छन् । सर्वेक्षणहरूले दुवै दलबीच नजिकको प्रतिस्पर्धा देखारहेका छन । साथै, कार्नी र पोइलीभ्रे दुवै नेताको लोकप्रियता पनि उस्तैउस्तै देखिन्छ ।
कन्जर्भेटिभ नेता पोइलीभ्रे कार्नीको तुलनामा बढी प्रखर वक्ता हुन् । कार्नीभन्दा उनी युवा पनि छन् । उनले देशभित्रको नेतृत्व परिवर्तनले मात्र बाह्य चुनौतीको सामना गर्न सकिने धारणा प्रस्तुत गर्दै आएका छन । उनले भन्ने गरेका छन्, ‘पहिलो देशभित्र परिवर्तन आवश्यक छ । त्यसपछि ट्रम्पलाई उचित जवाफ दिउँला । जब हामीले क्यानडालाई ठीकठाक पार्नेछौं, त्यो ट्रम्पका लागि आफैँमा खराब समाचार हुनेछ ।’
सन् २०१५ मा ट्रुडो सत्तामा आए यता कन्जर्भेटिभ पार्टी एक दशकदेखि विपक्षी भूमिकामा छ।
विपक्षी नेता पोइलीभ्रे कर घटाउन, सरकारको आकार सानो पार्न, आर्थिक तथा सामाजिक सुरक्षा संरक्षण बढाउन, रोजगार बृद्धि गर्न र अर्थतन्त्र सुधार गर्न चाहन्छन् ।
कन्जर्भेटिभ नेताका कतिपय धारणा ट्रम्पसँग मिल्दाजुल्दा छन् । पोइलिभ्रे पनि ट्रम्पजस्तै एलजीटीटीक्यू प्लसका विरोधी हुन् । ट्रम्पजस्तै पोइलीभ्रे क्यानडामा महिला र पुरुष दुई लिङ्ग मात्र हुने कुरा गर्छन् । उनी वातावरणवादी बामपन्थको विरोधी रहँदै आएका छन् । ट्रम्पजस्तै उनी तेल र ग्यासको उत्पादन बढाउन चाहन्छन् ।
पोइलीभ्रेका नीतिले कार्नीलाई समेत दबाबमा राखेको छ । कार्नीले मतदातालाई कर कटौतीको आश्वासन दिएका छन्।
क्यानडालीको संसदको तेस्रो ठूलो दल क्युबेक प्रदेशको क्षेत्रीय दल क्युबेकली ब्लक हो भने चौथो ठूलो दल एनडीपीका नेता शिख समुदायका जगमित सिंह छन् । क्यानडामा शिख समुदायको जनसङ्ख्या अनुपात दुई प्रतिशतभन्दा बढी छ । कतिपय निर्वाचन क्षेत्रमा यसले हारजितको निर्णायक भूमिका गर्दछ । यो पार्टीले जस्टिन ट्रुडोको अल्पमत सरकारलाई समर्थन गरेको थियो ।
क्यानडामा बहुमतको सरकार गठन गर्न हाउस अफ कमन्समा कुनै दलको १७२ सिट चाहिन्छ । कुनै पनि दलले बहुमत हासिल नगरे गठबन्धन सरकार बन्ने गर्दछ । गठबन्धन सरकार निर्माण गर्न तेस्रो र चौथो ठूलो दलको महत्वपूर्ण भूमिका हुन्छ ।
निर्वाचनमा बहुमत वा गठबन्धन सरकारका लागि अन्य दलको समर्थन हासिल गर्न नसके कार्नीले अप्रिलको चुनावपछि प्रधानमन्त्री पद गुमाउने छन् । त्यसो भए कार्नी क्यानडाली इतिहासमा सबैभन्दा छोटो समय मात्र प्रधानमन्त्री हुने व्यक्ति बन्नेछन् ।
तर, पार्टी नेतृत्वको चुनावमा हासिल गरेको भीषण विजयले कार्नीलाई आशावादी बनाएको छ । उनले मतदातासँग एकल बहुमतको माग गरिरहेका छन् । बलियो सरकारले मात्र अमेरिकी धम्कीको सामना र देशको सार्वभौमसत्ताको रक्षा गर्न सक्ने उनको तर्क छ ।
लामो समय सत्तामा रहेको कारण लिबरल पार्टीको लोकप्रियता घट्दै गएको गएको बताइएको थियो । तर, ट्रम्पका धम्कीले सृजना भएको राष्ट्रवादी भावनाको कारण क्यानडाली मतदातामा लिबरल पार्टीप्रति आकर्षण फेरि बढेको कतिपय सर्वेक्षणले देखाएका छन् ।
वास्तविक परिणाम कस्तो हुन्छ, त्यो निर्वाचनपछि नै प्रष्ट हुनेछ ।