भक्त खपाङ्गी -

प्रारम्भमा अत्यन्त सम्मानित र मर्यादित ‘सामन्त’ ‘बुर्जुवा’जस्ता मौलिक र आगन्तुक शब्दहरू अचेल हेयार्थक र गालीमा परिणत भएका छन् । (विद्यार्थी ) मण्डल, वाम (पन्थी)जस्ता शब्दहरू गालीका रूपमा मन्डले, बामे बनेर केही समयअघिसम्म खुब चलेका थिए । ‘सामन्ती’ त अहिले पनि प्रचलनमै छ । आमा, बाबुजस्ता अत्यन्त सम्मानजनक शब्दसमेत अपमानबोधक शब्दहरूसित मिसाएर गाली बनाइन्छन् । तर, एउटा यस्तो शब्द छ जुन चाहेर पनि कहिल्यै गाली बन्न सकेन, त्यो शब्द हो ‘राजा’ । जुनसुकै राजनीतिक सिद्धान्त बोकेको भए पनि एउटी प्रेमिकाले आफ्नो प्रेमीलाई भन्छे – ‘मेरो राजा’ , ’मेरो हृदयको राजा’ । एउटी आमाले आफ्नो छोरालाई भन्छिन् – ‘मेरो राजा’ । लाडप्यार गर्दा पनि ‘मेलो प्यालो लाजा’ भन्छिन् । कुनै व्यक्तित्वशाली, सुन्दर व्यक्तिलाई देख्ता धेरैको मुखबाट अनायसै निस्किन्छ –– ‘वाह कति राम्रो ! राजाजस्तो !’ हुन त रिसउठेको अत्याचारी मान्छेलाई भन्ने गरिन्छ ‘त्यो साले यहाँको राजा हो र मनपरी गर्ने ?’ तर, यहाँ पनि राजाप्रति अनादरभाव हुँदैन । मनपरी गर्नपाउने हक राजाको चैँ हुन्छ, त्यो सह्य हुन्छ तर अरू कसैको हुँदैन भन्ने अर्थ लाग्छ यसको । अचेल धेरै मान्छेका लागि कुकुर अत्यन्त प्यारो प्राणी भएको छ । कतिले त आफ्ना छोराछोरीलाईभन्दा पालेको कुकुरलाई बढी माया गरेको देखिन्छ । तर, कुकुर शब्द जहिले पनि हेयार्थमै प्रयोग हुन्छ । अति प्रेम दर्साउन कसैले पनि ‘मेरो प्यारो कुकुर’, ‘मेरो हृदयको कुकुर’ भनेको सुनिँदैन । यति हुँदाहुँदै पनि हाम्रो देशमा अहिले ‘राजा’, ‘राजतन्त्र’, ‘राजसंस्था’जस्ता शब्द पटक्कै नरुचाउनेहरू प्रशस्तै देखिन्छन् ।

Bhakta-Khapangiवर्तमानमा भने ‘राजा’को लोकप्रियता ह्वात्तै बढेर गएको देखिन्छ । ‘राजा’, ‘राजावादी’, ‘राजसंस्था’,‘राजतन्त्र’जस्ता शब्द–शब्दावली धेरै प्रयोगमा आएको पाइन्छ । ‘राजा’ शब्द आफैमा किन यति लोकप्रिय छ ? बुझ्नुपर्ने विषय हो । यो त्यति हल्काफुल्का विषय भने होइन । गहिरो अध्ययनको खाँचो पर्छ – खासगरी मानवसभ्यताको प्राग्ऐतिहासिक कालदेखि आधुनिक कालसम्मकै इतिहास । यो त्यति सजिलो काम भने होइन । शैक्षिकजगतबाट विलोप हुँदैगएको इतिहास विषयका आधिकारिक र प्रामाणिक किताबहरू ठुलठुलै पुस्तकपसलहरूमा समेत पाइँदैनन् । पाइए पनि ‘डलरे’ पुस्तकहरू मात्र पाइन्छन् । यस्ता पुस्तकहरूले पाठकलाई दिग्भ्रमित मात्र पार्दैनन् द्वन्द्वको भुमरीमा समेत धकेलिदिन्छन् ।

मानवविकासको प्रारम्भिक चरणमा मान्छेका झुन्डहरू बढ्दै गए । कला, सिपको विकास स्वतः हुँदै गयो । द्रुतगतिमा मान्छे विकासपथमा लम्किँदै गयो । विभिन्न नस्ल, जातिका मानवसमुदायहरू विकसित र सङ्गठित हुँदै गए । ठूलो चुनौतीका रूपमा रहेको हिंस्रक जङ्गलीजनावरहरूको आक्रमणबाट सुरक्षित हुन सिक्तै गए । तर, अर्काे डरलाग्दो चुनौतीको सामना गरिरहनुपर्ने हुन थाल्यो । अर्का छुट्टै झुन्ड वा कबिलाका मान्छेहरूको आक्रमण र लुटपाट हुन थाले । लडाकु प्रवृत्तिका बलियाबाङ्गा तन्नेरीहरूको जत्था तयार गरिन थाले । तिनको नेतृत्व गर्न एउटा सबल, सक्षम नाइके नियुक्त हुन थाले । बाह्य आक्रमणहरू झन्झन् डरलाग्दा हुँदै गए । कुटपिट, मारधाड, लुटपाट खप्तैआएकै थिए तर राम्रा, उमेरदार स्वास्नी, छोरी, बुहारी बलजफ्ती लगिन थालेपछि त असह्य भयो । क्रमशः सैनिकजत्थासहित गणनायकको व्यवस्थासमेत गर्न थालियो । आक्रामकपक्ष पनि झन्झन् बलवान् हुँदै गए । तिनलाई जित्नैपर्ने बाध्यता आउन थाल्यो । नत्र स्वास्नी , छोरीचेली त हरण गरिने नै भए लुटिएका आफ्नै सम्पत्ति आफैले तिनका भरिया भएर उनीहरूको राजमा पुर्याइदिनुपर्ने, अनि फर्केर आउनधरि नपाइने । उनकै कमारो, दास भएर बस्नुपर्ने । यो क्रम धेरै काल पछिसम्म रहिरह्यो । भारतमा सम्राट् अकबरको सन्तति मुहम्मद शाहको पालामा सन् १७३९मा पर्सियाका शासक नादिर शाहले आक्रमण गरी गरेको लुटपाट र भीषण हत्याकाण्ड भारतीयहरूले अझैसम्म बिर्सेका छैनन् । सम्राट् मुहम्मदशाहले झुकेर माफी मागेपछि मात्र कत्लेआम रोकिएको थियोे । नादिर शाहले भारतीयहरूलाई नै बोकाएर अकुत सम्पत्ति लग्यो । त्यसको केही हिस्सा आफ्ना सैनिकहरूलाई तीन महिनाको तलब बराबरको बोनस दियो र सबै जनतालाई सबै प्रकारका कर मिनाहा गरिदियो । सबै आक्रमणकारी यस्तै लुटेरा मात्र हुँदैनथ्ये, त्यहीँ बसेर शासन गर्न थाल्थे । स्थानीय देशबासी आफ्नै देशमा पराधीन हुनुपथ्र्याे । अल्पसंख्यक बाह्य आक्रमणकारी विजेता शासकहरूद्वारा निरङ्कुश र क्रूर शासन चलाइन्थ्यो । स्थानीय जनता कैयौं मारिन्थे, कैद गरिन्थे र सम्पूर्ण जनता दासतापूर्ण जीवन बाँच्न बाध्य हुन्थे । धेरै लामो समयसम्म विश्वभरि दासप्रथा कायमै रह्यो । जनताले आफ्नै बलियो र योग्य शासकको आवश्यकता महसुस गरे । फलस्वरूप विश्वका धेरै देशहरूमा राजतन्त्रको पुनरुत्थान भयो ।

प्रारम्भिक कालमा धेरै गणराज्यहरूको विकास भयो । निश्चित अवधिमा सबै नागरिक भेला भएर गणनायक चुन्ने प्रथा सुरु भयो । बिस्तारैबिस्तारै त्यो पनि अफाप सिद्ध हुँदै आयो । अन्तरिम कालमा पनि बाह्य आक्रमण त हुनसक्ने नै भयो । त्यसैले स्थायी प्रकृतिको नेतृत्व आवश्यक भयो । परिणामस्वरूप राजतन्त्रको उदय भयो । राजामा युद्धकौशल त हुनुपथ्र्याे नै कूटनीति र आन्तरिक शान्तिसुरक्षा, सुशासनको सीप पनि चाहिने भयो । त्यसो हुँदा सामान्य मान्छे राजा हुने कुरै आउँदैनथ्यो । सुयोग्य, प्रतिभाशाली र बहादुर हुनैपथ्र्याे । बाह्य आक्रमणकारीसित हार खानुपर्दा जनताले मात्र होइन ऊ स्वयंले पनि धेरै ठुलो हानि ब्यहोर्नुपथ्र्याे । ऊ स्वयम् कैद गरिन, मारिन त सक्थ्यो नै उसका सोखसयलमा बसेका महारानी, रानी, राजकुमारीहरू समेत शत्रुका हातमा पर्थे । उनीहरू भोगविलासका साधन बनाइन्थे, दासी बनाइन्थे । यस्तै अवस्था आउँदा सन् १३०३ मा चित्तौड (भारत)की परमसुन्दरी रानी पद्मावती (पद्मिनी)ले आक्रमणकारी अलाउद्दिन खिलजीको हातमा पर्नुपर्ने भएपछि आफ्ना सुसारे युवतीहरूसहित आफ्नै दरबारभित्र अग्निकुण्डमा हाम फालेर आत्मदाह गरेको दुःखद घटना भारतको इतिहासमा बिर्सिनसक्नुको चोट बनेर रहेको छ ।

कुनै पनि राजा, महाराजा सधैँ सशक्त रहन सक्तैन। उसका उत्तराधिकारीहरू पनि निरङ्कुश र भोगीविलासी हुँदै गएपछि त्यो वंशकै शासनको अन्त्य हुन्छ । राजतन्त्र स्थायी हुन सके पनि एउटै वंशको शासन नरहन पनि सक्छ । त्यसैले सुयोग्यता राजा स्वयंका लागि समेत अति आवश्यक हुन्छ । भारतका पछिल्लो कालका मुगल सम्राट्हरू बाबर, हुमायु, अकबर, जहाँगीर, शाहजहाँ, औरङ्गजेबजस्ता शक्तिशाली राजाहरूका उत्तराधिकारीहरू सोखसयल, मोजमस्ती, भोगविलासमा मात्र लिप्त हुन थालेपछि विश्वविजेताका रूपमा आएका अङ्ग्रेजशक्तिका अगाडि टिक्न सकेनन् , सदाका लागि विलुप्त भए । बलियो राजतन्त्रको अभावमा भारतबासीहरूले लगभग दुई शताब्दीसम्म आफूले ’म्लेच्छ’ भनेर हियाउने गरेका विधर्मी गोराहरूको दमनात्मक शासनको सास्ती खप्नु परेको थियोे ।

आफ्नोे बाहुबलले राज्यनिर्माण गर्ने संस्थापक राजा कोही पनि कमजोर र अयोग्य हुनै सक्तैन । सिकन्दर, चन्द्रगुप्त मौर्य, जुलियस सिजर, बाबर, मानदेव प्रथम , पृथ्वीनारायण शाह आदि धेरै राजाहरू अब्बल दर्जाका योग्य शासकहरू हुन् ।

यसरी कुनै पनि देशका जनताको जीवनमरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकैले ‘राजा’ शब्द आफैमा प्यारो बनेको हो ।

आज पनि विश्वका सुखी,समृद्ध, विकसित र सुरक्षित राष्ट्रहरूमा पर्ने लग्जमबर्ग, नर्वे, कतार, डेनमार्क, निदरल्यान्ड, स्विडेन, ब्रुनाई आदि देशहरू राजतन्त्रात्मक नै हुन् । मोनाको, कुवेत, बहराइन, युएई, कतार, बहमास, ओमनजस्ता राजतन्त्रात्मक मुलुकहरू त करमुक्त (Tax Free) रहेछन् । राजतन्त्रलाई ’प्रतिगमनकारी, सामन्ती राजतन्त्र’ भन्नु इतिहास नपढ्नु वा नबुझ्नु हो । ‘राजा’ र ‘सामन्त’ बेग्लाबेग्लै अर्थ दिने शब्द हुन्, पर्यायवाची शब्द होइनन् ।

वर्तमान नेपालमा ‘राजतन्त्र’ (कतिपय राजावादीहरू ‘राजतन्त्र होइन राजसंस्था चाहियो’ भन्छन् ) को आवश्यकता महसुस भइराखेको पक्का हो ।

(लेखक संविधानसभा सभासद हुनुहुन्छ । –सं.)