भवानी बराल -

वीपी कोइरालाले भनेका थिए, ‘राष्ट्र भनेको कुनै भूभागको ढुङ्गो, माटो, खोलानाला र साँध सीमामात्र होइन, त्यहाँ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव हो ।’ यतिखेर राष्ट्र, राष्ट्रियताको खुब चर्चा हुने गर्छ तर, वीपीले भनेका यि भनाइको सार खिचेको पाइन्न । वीपीले भारत निर्वासनबाट नेपाल फर्किदा लिएको वीपीको ‘राष्ट्रिय मेलमिलाप नीति’ पनि दिवसको रुपमा वर्षौंदेखि मान्ने चलन छँदैछ । यो दिवसको प्रसंगमा पनि राष्ट्रियताको चुरो खुट्टिएको हैन ।

पञ्चायतकालको सुरुवातदेखि पुष २७ गतेको दिनलार्ई ‘श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को रुपमा मनाउने अनिवार्य चलन थियो । पञ्चायत व्यवस्थाले लगाएको यो ‘व्हिप’ ०४७ पछिको बहुदलीय कालखण्डमा पनि यो दिवसको मान्यता कायमै थियो । दोस्रो जनान्दोलनपछि यो दिवसको सान्दर्भिकताको अन्त्य औपचारिक रुपमै गरियो । यो दिनको सान्दर्भिकताको बारेमा केहिको पौराणिक अनुराग छँदै थियो । तिनले वर्षेनी सिंहदरवार अगाडिको पटाङ्गिनीमा यो दिवस मनाउँदै आएका थिए । तर, दोस्रो गणतान्त्रिक निर्वाचन परिणामको गणितले यसलार्ई पुनस्थापित गर्न सरकारी विदा दिने हदमा पु¥याएको हो । गएको वर्षहरूमा पुष २७ गते यो दिवसलार्ई जबर्जस्त पुनस्थापित गर्ने प्रयास गरियो । यो आलेखमा नेपाली राष्ट्रियताको सन्दर्भमा पुष २७ को बयानसंग कहाँ तालमेल खान्छ यसैको खुटखबर लिने प्रयास गरिनेछ । 

पानी बहस :

यहाँ पुष २७ गतेसंगको आग्रह–पूर्वाग्रहमा कुनै लेनदेन छैन । राष्ट्र र राष्ट्रियताको पूर्ण परिभाषा नहुन्जेल यस्ता दिनमा ‘श्राद्धमा बिरालो बाँध्ने परम्परा’ कै निरन्तरता हुनु अस्वाभाविक लाग्दैन । केहिले यो दिनलाई पृथ्वीनारायण शाहको जन्मदिनसंग सम्बन्धित भएकोले ‘कालो’ र अर्का थरीले राजा र राजतन्त्रसंग जोडिएको अर्थमा उज्वल दिन मानेका हुन । वास्तवमा पुष २७ गतेको पछिल्तिर लागेर राष्ट्रिय एकताको सर्वश्व ठान्नु र त्यसकै विरोधमा स्वर उछाली रहनु पछिको कुनै तुक छैन्, किनकी सत्यतथ्य अझै एकीन भैसकेको छैन् । यसले नेपाली राष्ट्रियताको साँचो बहस माग गरेको छ भिन्न रुपमा  ।

नेपालको यो स्वरुप कसरी बन्यो होला ? नेपालको यो भौगोलिक स्वरुप बन्दाको दन्त्य कथा हालेर मात्र नेपालको राष्ट्रिय एकताको जग बस्दैन । तत्कालीन वेलाईती साम्राज्यद्वारा स्थापित भारतको इष्ट इण्डिया कम्पनी र अर्को भोट–चिनी साम्राज्यको ‘टेलिपेथिक’ सन्तुलनद्वारा यो भौगोलिक स्वरुपको निर्माण भएको हो । इष्ट इण्डिया कंपनी र भोट–चीनसंग युद्ध गरेर, जितेर यो भूगोलको रक्षा गरेको भए ‘सुगौली’, ‘केरुङ’, ‘बेत्रावती’, ‘थापाथली’ सन्धि गर्ने नौबत नै आउने थिएन । आधुनिक हतियारले लेस इष्ट इण्डिया कम्पनीसंगको युद्ध घुँएत्रो हानेर, भिरबाट ढुंगो लडाएर र भिर मौरीलाई टोकाएर रोकेको अर्थ केवल रोमाण्टिक कहानी हो । यसरी कथेको कथाले राष्ट्र र राष्ट्रियता जोगाएको अर्थ कति अर्थपूर्ण होला ? यो पानी बहसको विषय जस्तो भयो ।

नेपाली राष्ट्रियताको चुरो :

नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको राजनीति विज्ञानसम्मत परिभाषा नहुन्जेल यस्ता अमुक तारिखहरू जबरर्जस्त ‘राष्ट्रिय एकता दिवस’ भैरहन्छन् । इतिहासमा पुष २७ तारिखमा कुन ऐतिहासिक काम भएको थियो ? सुगौली सन्धि भएको थियो कि ? नेपालको साँध सीमाना छिमेकी मुलुक वेलाईत–भारत र भोट–चीनले लालमोहर लगाइ दिएको थियो कि ? तत्कालीन बाइसी–चौबीसी, उपत्यका र उपत्यकापूर्वका चौदण्डीसहित  ५२ गणराज्यहरूले अमेरिक ाबने जसरी ‘फिलेडेल्फिया’ सम्मेलन गरेर नेपाल नामको देश निर्माण गरेका थिए की ? यसको सटिक उत्तर नआइन्जेल नेपाली राष्ट्रियताको चुरो भेटिदैन र यस्ता दिवसको पनि अर्थ छैन् । के भएको थियो, के भएको थियो तर पुष २७ गते राष्ट्रिय एकता दिवस हो भनेर मात्र हुन्छ ?  

एउटा राष्ट्र बन्नका लागि दार्शनिकहरूले अनेक परिभाषा गरेका छन् । तर ति सबै परिभाषाहरूमा मतैक्यता पाइन्छ । स्टालिनले राष्ट्रको परिभाषामा भनेका छन्, ‘राष्ट्र भनेको ऐतिहासिकरुपले विकसित स्थिर मानव समुदाय हो, जुन साझा संस्कृतिमा प्रतिबिम्बित हुने साझा भाषा, साझा भूभाग, साझा आर्थिक जीवन र मनोवैज्ञानिक संरचनाको आधारमा निर्मित हुन्छ ।’ यो परिभाषा अन्तरगत नेपाल एउटा राष्ट्रको रुपमा विकसित भैसकेको छ ? प्रश्न यहिँनेर आएर गम्भीर हुन्छ । एउटा सिङ्गो राष्ट्र बन्नको लागि चाहिने सर्तहरू पुरा नहुन्जेल ति राष्ट्र र त्यस अन्तर्गतको राष्ट्रियता अन्तरिम हुन्छ । यो परिभाषा अन्तर्गत नेपाल, राष्ट्र उन्मुख अन्तरिम राष्ट्र र विविध राष्ट्रियताको साझा मोर्चा मात्र हो ।

माक्र्स–एंगेल्सले ‘कामदारहरूको कुनै देश हँुदैन, हामी तिनीहरूबाट त्यो कुरा लिन सक्दैनौ, जुन कुरा उनीहरूले प्राप्त गरेकै छैनन्’ भनेका छन् । उनीहरूले सर्वहारा वर्गलाई राष्ट्रकोरुपमा उभ्याउन अपील पनि गरेका छन् । यो वाक्यमा एउटा गहिरो अर्थ लुकेको छ । समुदायको मनोभावनामा पनि यो कुरा हुन्छ । माथि वीपीले भने झैं समुदायको संस्कृति, सभ्यता र मनोभावना नै राष्ट्र भनेझैं हरेकमा त्यो कुरा प्रतिविम्बित हुनुपर्छ । लेनिनले राष्ट्र र राष्ट्रियता माक्र्सवादको प्रकाशपुञ्जमै व्याख्या गरे । उनले राष्ट्र र राष्ट्रियता अवधारणाको विकास उदाउँदो पुँजीवादी युगसंगै हुने ठहर गरेका छन् । यसरी अहिले सामान्ति युगको सामान्तवादी राष्ट्र र राष्ट्रियताको जबर्जस्त व्याख्या गरेर त्यसैमा अल्मल्याउने कि उदाउँदो पुँजीवादी युग सुहाउँदो राष्ट्र र राष्ट्रियताको व्याख्या गर्ने विषयको यो विवाद हो ।

राष्ट्र बन्ने अभियान  :

यसरी नेपाल, राष्ट्र बन्ने अभियानमा छ । पृथ्वीनारायण शाहले ‘असिली हिन्दुस्थान’ बनाउने एकल हिन्दु धर्मतन्त्रात्मक राष्ट्र निर्माण गर्ने आधारमा यो भूगोलको ‘एकीकरण’ गरेका हुन । यो क्रमको निरन्तरता राणा–पञ्चायत हुँदै पछिल्लो बहुदलीय कालखण्डसम्म निरन्तर रह्यो । विसं २०१९ सालको संविधानले हिन्दु अधिराज्य संवैधानिकरुपमा कायम गरेको वैधानिक बुँदालाई ०४७ सालको प्रजातान्त्रिक संविधानले पनि लालमोहर लगायो । एक जाति (नेपाली), एक भाषा, एक भेष, एक धर्म, एक देशको अवधारणाको जबर्जस्त राष्ट्र र त्यसै अन्तर्गतको राष्ट्रियता निर्माण गर्ने कोसीस गरियो । चलनचल्तिको भाषामा जसलाई ‘मण्डले’ वा ‘महेन्द्रीय राष्ट्रवाद’ भन्ने गरिन्छ ।

यसरी नेपाललाई एक धार्मिक, एक जातीय, एक भाषिक राष्ट्र बनाउने राजनैतिक तथा प्रशासनिक अभ्यास विगतमा भैसकेको हो । तर यो अभ्यासले पूर्णता पाएन । यदि पूर्णता पाएको भए पुष २७ वा यस्तै कुनै तारिख नेपाल राष्ट्र निर्माण ऐतिहासिक दिन ‘राष्ट्रिय एकता दिवस’ हुने थियो । यसमा अन्यथा मान्नु पर्ने थिएन । संसारमा यस्ता परिघटना भएका थुप्रै उदाहरणहरू छन् । नेपालमा भने अढाइसय वर्षको अभ्यासले पनि एउटा सबल राष्ट्रको रुपरेखा आउन सकेन । कसैले माने पनि नमाने पनि यो तितो यथार्थ हो ।

राष्ट्रहरू कहिले माथिबाट निर्माण हुन्छन्, कहिले तलबाट । अमेरिका वेलाईती उपनिवेशवाट मुक्त भएपछि तलबाट निर्माण भएको राष्ट्र हो । फिलेडेल्फिया सम्मेलनमार्फत तलबाट अमेरिकी राष्ट्रको जन्म भयो । जर्मनी राष्ट्र विस्मार्कको नेतृत्वमा युद्धद्वारा माथिबाट बनेको हो । नेपाल पनि पृथ्वीनारायण शाहले कतै युद्ध र कतै सम्झौताद्वारा माथिबाट बनाए । तर, उनले माथिबाट बनाएको माथि उल्लेखित विशेषताको राज्यमा आम आदिवासी, जनजाति, मधेसी, दलित, अल्पसंख्यक, सिमान्तकृत र श्रमजीवि वर्गले यतिका वर्षपछि पनि अपनत्व महशुस गरेनन् । उनीहरूले आजका मितिसम्म पनि परम्परागत राष्ट्र र राष्ट्रियताको परिभाषा भित्र आफुलाई नपाएकोमा गुनासो गरेका छन् । जर्मनको एकीकरणलाई जर्मनीहरूले अपनत्व ग्रहण गरे । त्यसरी नेपालको यो स्वरुप बनेकोमा एकमत रहेन । यद्दपी विकसित परिस्थितिमा यतिका वर्षपछि पृथ्वीनारायण शाहले गरेको ‘बलात भौगोलिक एकीकरण’लाई मानेर जानु बाध्यात्मक परिस्थितिको सहज निकास हुनेमा दुइमत राख्नु हुन्न ।    

यसर्थ नेपाल राष्ट्र निर्माणको अभ्यास तलबाट पनि थाल्नु पर्छ । माथिबाट बनाउन गरिएको प्रयास स्वरुप प्राप्त भूगोललाई तलमाथि गर्ने सम्भावना टरेर गएको छ । सिक्काको दुई पाटो भनेझैं तलबाट राष्ट्र निर्माणको प्रक्रिया थालेर पूर्णता दिनु सर्बश्रेष्ठ उपाय हुनेछ । अहिलेसम्म भएका आन्दोलन र दोस्रो जनान्दोलनले बढी प्रस्ट गरेको सान्दर्भिक जनादेश त्यहि हो । बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौतादेखि अन्तरिम संविधान र नेपालको संविधान २०७२ सम्मका लिखतहरूमा यहि विषय परेको छ । राज्यको पुनर्सरचनाको अपरिहार्य आवश्यकता र राज्य पुनर्संरचना गर्दा ठगिएका समुदायलाई क्षतिपूर्ती दिएर राष्ट्रमा उनीहरूको मनोभावना, संस्कृति र सभ्यतालाई सम्मान गर्ने निधो गरिएको थियो । तर राज्य पुनर्सरचना गर्दा त्यसो हुन सकेन । वास्तमा नेपालको संविधान २०७२ मा राष्ट्रको परिभाषा जसरी गरिएको थियो त्यसरी नै राज्यको निर्माण हुनु पर्दथ्यो । यस्तो भैदिएको हुन्थ्यो भने साँचो अर्थमा नेपाल राष्ट्रको निर्माण पुरा हुन्थ्यो । परम्परागत ढंगबाट परिभाषित हुँदै आएको राष्ट्र र राष्ट्रियताको परिभाषा विपरित प्रगतिशील ढंगबाट हुने थियो । राष्ट्रिय एकता दिवस कसैले मान्ने कसैले दुत्कार्ने नै हुने थिएन ।

रहलपहल :

 संविधानत परिभाषित राष्ट्रको परिभाषा अनुसार राज्य निर्माण गर्दा मात्र आन्तरिक औपनिवेशीककरणको अन्त्य हुन्छ । राष्ट्रमा पिछाडि पारिएका वा परेकाहरूले पहिचानमार्फत वीपीले भनेझै राष्ट्रको सार सभ्यता, संस्कृति र मनोभावको माग गरेका हुन । यति नै बन्दोबस्त गर्दा राष्ट्र बन्ने र राष्ट्रियता सुदृढ हुने कुरामा हलो अड्काउनु मुनासिब लाग्दैन । आन्तरिक औपनिवेशीकरणको अन्त्य विना समग्र राष्ट्रियताको विकास र समृद्धिको कल्पनासम्म गर्न सकिन्न । नेपाली जनताबीचको आधारभूत अन्तरविरोधको अन्त्य नै राष्ट्र निर्माणको जग हो । यो जग नेपाली राष्ट्रियता सुदृढीकरणको कोशे ढु«ङ्गा सावित हुनेछ ।