जलपाईगुड़ी,पश्चिम बंगाल l जलपाईगुडी डिभिजनको रामसाई मेडल्ला र गोरुमारा सहित चपरामारी अभयारण्यमा गैँडाको गणना आजदेखि सुरु भएको छ। बुधबार र बिहीबार मार्च ५ र ६ मा दुई दिन जारी रहनेछ । गोरुमारा वन्यजन्तु महाशाखाका डीएफओ द्विजप्रतिम सेनले यी दुई दिन गैँडाको संख्यागणना हुँने र वन विभागले पर्यटकलाई प्रवेश नदिने घोषणा गरेका छन् । गोरुमारा राष्ट्रिय निकुञ्ज र चपरामारी वनका साथै नाथुआ रामसाई र जलपाईगुडी डिभिजनको छेउछाउका क्षेत्रहरूमा गैँडा गणना भइरहेको छ। गणना आज, मार्च ५ र ६ (बुधवार र बिहीबार) जारी रहनेछ, जहाँ वन अधिकारीहरूले पैदल र सवारी साधनमा गैँडा गणना गर्नेछन्, ट्र्याप क्यामेरा र हात्तीको प्रयोग गरी गैँडा गणना गर्नेछन्, जसको लागि ३७ भन्दा बढी टोली खटाइएको छ। जनगणनाका क्रममा पर्यटकका लागि वन बन्द रहनेछ । सन् २०२२ मा गरिएको पछिल्लो जनगणनामा गोरुमारामा ५५ गैँडा भेटिएका थिए । यसपटक यो संख्या बढ्ने वन विभागको अनुमान छ ।
यसपटक गणनामा ३७ भन्दा बढी टोली संलग्न रहेको वन विभाग स्रोतले जनाएको छ । विगतको तुलनामा यसपटक गैँडाको संख्या बढी हुने वन विभागको अनुमान छ । यस जनगणनालाई सफल बनाउन दक्षिण धुपझोरा हात्ती शिविरमा दुई दिने तालिम शिविर आयोजना गरिएको छ । पहिलो दिन वन कर्मचारी र वन संरक्षण समितिका सदस्यहरुलाई तालिम दिइएको थियो भने दोस्रो दिन वातावरणीय संस्थाका सदस्यहरुलाई तालिम दिइएको थियो । सही जानकारी सङ्कलन गर्न वनकर्मीले ड्रोनलगायत आधुनिक प्रविधिको सहयोग लिइरहेका छन् ।