- रामाशिष

"चीनले भारतीय भूमिमा आक्रमण गर्न एक हप्ता मात्र ढिलाई गरेको भए ६० वर्ष अघि नै नेपालमा गणतन्त्र स्थापना हुन्थ्यो ।" प्रजातन्त्र हत्याको प्रमुख पात्र डाक्टर तुलसी गिरीले १९७१ – ७२ मा काठमाडौंबाट प्रकाशित हुने एउटा पत्रिकालाई अन्तर्वार्ता दिँदै भन्नु भएको थियो । भारत माथि चीनले हमला गर्छ भन्ने कुराको जानकारी हमलाको एक सप्ताह अघि नै राजा महेन्द्र र मलाई थाहा थियो । डाक्टर गिरिले अन्तर्वार्तामा भनेको कुरा सत्य थियो थिएन यस कुरामा विवाद नभए पनि नेपालको तत्कालीन राजनीतिक नेताहरूले स्विकार गर्दछन् कि चीनले भारत माथि हमला गर्नमा एक हप्ता मात्र ढिलाई गरेको भए नेपाली कांग्रेसको सशस्त्र क्रान्ति त्यही समयमा सफल हुन्थ्यो । राजा र राजगद्दीको अस्तित्व त्यसै बखत मेटिन्थ्यो ।

साँच्चै भन्नुहुन्छ भने यस घट्नाले त यो प्रमाणित गर्छ कि तानाशाह राजा महेन्द्रलाई बचाउन र प्रजातन्त्रको जरो उखेल्नलाई नै चीनको आततायी कम्युनिस्ट नेता माओत्सेतुङले भारत माथि भीषण हमला गरे । जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला सहित नेपाली कांग्रेसको अधिकांश नेताहरूलाई जेल हाल्न लगाए पछि भारतीय भूमिमा पुगेको नेपाली कांग्रेसको नेता कार्यकर्ताहरूले भारतीय सीमामा क्याम्प स्थापित गरि सशस्त्र क्रान्ति सञ्चालन गर्दै थिए । भारतलाई अप्ठ्यारो नपार्ने उद्देश्यले नै नेपाली कांग्रेसको नेता सुवर्ण शमशेरले राजा महेन्द्रको “तख्तापलट“ कदमको विरुद्ध सशस्त्र क्रान्तिलाई स्थापित गर्ने घोषणा गर्नु भयो । भारत माथि चाइनिज हमलाको फाइदा उठाएर नै राजा महेन्द्रले नेपाली कांग्रेसको सशस्त्र क्रान्तिलाई बिफल पार्न सफल भयो र सबै राजनीतिक दलहरूलाई प्रतिबन्ध गरि निर्दलीय पञ्चायती शासन प्रणाली थोप्न पाए ।

राजा महेन्द्र विचलित–आक्रोशित–सनकी दिमागको हुन्थे र यदि राजा महेन्द्रले चिनियाँ सेनालाई नेपालमा अड्डा बनाउन अनुमति दिए भने भारत थप अप्ठ्यारोमा पर्न सक्छ । भारतले नेपाल–भारत सीमानामा पनि थप मोर्चा खोल्नुपर्ने हुन सक्छ र उसले करिब १७ सय किलोमिटर लामो नेपाल– भारत सीमानामा पनि चाइनिज हमलाको मुकाबिला गर्नु पर्ने हुनसक्छ । बिश्वशान्ति दुत बन्ने महत्वकाङ्क्षामा पण्डित जवाहरलाल नेहरूले भारतीय सेनाको हतियार बनाउने कारखानाहरूलाई जुत्ता कारखानामा परिणत गरेका थिए । त्यही समयमा भारत माथि चिनियाँ हमला भयो । त्यो समयमा पण्डित जवाहरलाल नेहरू चाहिँ “हिन्दी–चिनियाँ भाइ भाइको नारा लगाउदै बसिरहेका थिए ।

यहि समय भएको चीनीयाँ हमलाको विरुद्ध निहत्था भारतीय सेनालाई अत्याधुनिक हातहतियारले सुसज्जित चीनियाँ सेनाको मुकाबला गर्न भारत–चीन सिमामा पठाइएको कारण हजारौ हजार भारतीय सेनाका जवानहरूले भेडा–बाख्रा सरह ज्यान गुमाउनु परेको थियो । चीनले भारत माथि आक्रमण गरे देखि नै नेपालको राजा महेन्द्रले चाइनिज कार्ड प्रयोग गर्न शुरु गरेको हो । नेपालभरि ‘चीन जिन्दावाद’ को नारा लाग्न थाल्यो । राजा र राजदरबार नियन्त्रित तत्कालीन शासन तन्त्र, राजदरबार – पालित पञ्चायती र कम्युनिस्ट नेताहरूद्वारा प्राइमरी स्कुल देखि,  हाइस्कुल, कलेज सम्मको विद्यार्थीहरूको दिमागमा एउटै नारा भर्ने अभियान प्रारम्भ भयो । भारत बदमास छिमेकी देश हो,  उसले नेपाललाई निल्न चाहन्छ, खान चाहन्छ । अतः वर्तमान संकटमा राष्ट्रको अस्तित्व र राष्ट्रियता जोगाउनु नेपालका हरेक नागरिकको प्रथम कर्तव्य हो ।

यति मात्र होइन राजा महेन्द्र पछि राजा वीरेन्द्रले पनि भारतका प्रति दुर्भावना फिँजाउने अभियानमा कुनै कसर बाँकी राखेनन् । राजा महेन्द्र र आक्रोशित राणाहरूले भारत बिरोधिको जुन जरा रोपेको छ, त्यसलाई कम्युनिस्टहरूले र कहिलेकाँही नेपाली कांग्रेसले पनि अहिले सम्म मलजल गर्ने र हावा भर्ने काम गरिरहेको छ । राणाहरूको आक्रोशको त एउटा कारण बुझ्न सकिन्छ । तिनीहरूको १०४ बर्ष पुरानो शासनको अन्त्य गर्नमा भारतले ठुलो सहयोग ग¥यो । तर, शाहवंशीय राजालाई त १०४ वर्षको जेलजीवनबाट भारतले नै मुक्त गराएको थियो नि । अर्थ स्पष्ट छ कि आफ्नो राजगद्दीमा खतरा परेको महसुस गरि बैगुनी शाहवंशीय राजाहरूपनि भारत विरोधी अभियानमा लागिरहे ।

राजा महेन्द्रको छोरा राजा बीरेन्द्र पनि मृत्युपर्यन्त राष्ट्रिय– अन्तर्राष्ट्रिय स्तरमा भारत विरोधी विषवमन गरिरहे । भारतको दुश्मन राष्ट्र र भारतमा आतङ्कवादी गतिविधिमा संलग्न भारतको आतङ्कवादी र भारत विरोधी वाह्य शक्तिहरूसँग हात मिलाएर भारतलाई क्षति पु¥याउन सक्दो प्रयास गरे । नेपाललाई तस्करहरूको स्वर्ग र भारत विरोधी आतङ्ककारीहरूको अड्डा बनाउनमा कहिले पनि कुनै कसर बाँकी छाडेनन् । यो पनि सर्वविदितै छ कि राजा वीरेन्द्रको वंश विनाशपछि नेपालको राजगद्दीमा बसेको राजा ज्ञानेन्द्रले पनि ‘विनाशकाले विपरित बुद्धि’ भने झैँ अन्तिम समयमा आफ्नो भारत बिरोधी घृणित र आत्मघाती स्वरूप देखाइ हाले । (लेखक भारतीय बुद्धिजिवी तथा पत्रकार हुनुहुन्छ - सं)