डा. ऋषिराज बराल

पार्टी एकता र फूट पनि मौसमी हाटबजारजस्तो बनेको छ । अमुक पार्टीमा ‘विद्रोह, अमुक पार्टीमा फूट, अमुक पार्टीको अमुक पार्टीसित एकता जस्ता रङ्गीविरङ्गी शब्दहरूले सामाजिक सञ्जाल भरिएको पाइन्छ ।   किन फूट भयो ? कसको लहडमा फूट भयो, कसलाई नेता बनाउन फूट भयो ? र किन फेरि त्यही स्थितिमा ‘एकता’ भयो भन्ने कुराको उत्तरको कतै छेउटुप्पो पाइँदैन  । फूटमा पनि  लामो अन्तर्सङ्घर्ष चल्दैन । अनि  केका लागि एकता गर्ने, कस्तो सङ्ठन बनाउने ?  यी सन्दर्भहरूसित  वैचारिक राजनीतिक पक्ष, कार्यदिशा कार्ययोजना र नेतृत्व सबै गाँसिएर आउँछन् । यस विषयमा चाहिँ खासै बहस हुँदैन । नेताको कामकारबाही र क्षमतामाथि अलिकति प्रश्न उठायो भने नेताले आफ्नो कुर्सी खतरामा ठानेर कार्यकर्तामाथि डन्डा बर्साउने र  कार्यकर्तालाई पनि केही कुरामा चित्त बुझेन भने वरिपरिका दुईचार जनाको हाहाहुहु टोली बनाएर हिँडिहाल्ने गरेको पाइन्छ । वैचारिक पक्षले भन्दा ‘म कहाँ’ र ‘मलाई के’ भन्ने कुरा तलदेखि माथिसम्म प्रभावी बनेको देखिन्छ । पार्टी पार्टीजस्तो  नभएर गँजेडीहरूको अड्डा बनेको देखिन्छ ।  न विगतको समीक्षा हुन्छ, न वर्तमानको विश्लेषण र संश्लेषण नै । सबै तदर्थमा चलेका हुन्छन्  । समीक्षा र आत्मालोचनाको पाटो भएर अघि बढ्न कोही तयार हुँदैनन् । त्यसपछि रातारात एकता अनि रातारात फूटका शृंखलाहरू चल्न थाल्छन्  । 

नेपालमा  कम्युनिस्ट नाम टाँसेका नव–प्रतिक्रियावादी, संशोधनवादी र क्रान्तिकारी प्रवृत्ति बोकेका तीन थरी पार्टीहरू छन् । नेपाली समाजमा दस बर्से महान् जनयुद्धको विरासतसित गाँसिएका र नेपाली समाजको अहिलेको विशिष्ट परिस्थितिमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई  पथप्रदर्शक सिद्धान्त मानेर क्रान्ति सम्पन्न गर्न अगाडि सरेकाहरूको  राम्रो उपस्थिति भए पनि यसले सङ्गठित रूपमा गति र दिशा लिन सकेको  स्थिति छैन ।  क्रान्तिकारी भनिएका पार्टीहरूभित्र थरीथरीका स्कुलिङका उत्पादन छन् । विभिन्न मुहानबाट आएर आसन जमाएकाहरूको विभिन्न मानसिकताको प्रदूषणले क्रान्तिकारी भनिएका समूहहरू प्रदूषित छन् ।  कतिपय कार्यकर्ताहरू आफ्नो पार्टीको भताभुङ्ग र लथालिङ्ग स्थितिप्रति चिन्तित र गम्भीर पनि देखिन्छन्, ‘पार्टी बिग्रियो” भन्ने  छटपटी पाइन्छ तिनमा । तर, उनीहरूले समस्याको जड बुझ्न सकेका हुँदैनन् र अथवा बुझेर पनि तिनलाई हल गर्ने ‘साहस का साथ पाइला चाल्न सकेको पाइँदैन । समस्या विचारमा हो कि सङ्गठन परिचालनमा, अथवा नेतृत्वमा ? भन्ने कुरामा  प्रस्ट हुनु आवश्यक हुन्छ । समस्या कार्यकर्तामा भन्दा पनि नेतृत्वपङ्क्तिमा छ भनेर बुझ्न नसक्नु नै अहिलेको प्रमुख  समस्या बनेको छ  । 

जनयुद्धको विसर्जन गरेर  माओवादी पार्टी ‘शान्तिप्रक्रिया’ मा आएपछि थुप्रै फोहोरमैला भित्रिए ।  आफ्नो अनुकूलता र स्वार्थलाई ध्यान दिँदै नेतृत्वमा रहेकाहरूले  एकताका नाममा थरीथरीकालाई   मिसाउँदै गए । पार्टीमा फूट र विभाजनको स्थिति भएपछि त झन् चारै ढोका खुल्दा रहेछन् र सबै ढोकाबाट ह्वाह्र्वार्ती पस्तो रहेछ, पसाइँदो रहेछ प्रदूषित हावा । अनि पार्टीमा वैचारिक र भौतिक  ढसमस्सताका साथ  प्रदूषित हावाहरूकै  राइँदाइँ चल्दो रहेछ । जनयुद्धकालका हत्याराहरू नै भए पनि ती रातारात  ‘श्रद्धेय कमरेड’ मा फेरिँदा रहेछन्  । अनि पार्टीमा विस्तारै क्रान्तिकारीहरू किनारा लाग्ने स्थिति बन्दो रहेछ । यो हामीले हेर्दै र भोग्दै आएको   यथार्थ  हो । 

प्रचण्डसित विद्रोह गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी–माओवादी, अनि एकतामा केही संख्या थपेर बनेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र अहिले एकताका नाममा केही व्यक्ति थप र घट भएर बनेको ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको पार्टी यात्रा हेर्दा क्रमिक रूपमा यो पार्टी वैचारिक स्खलन र साङ्गठनिक विसर्जनको दिशामा गएको कुरा प्रस्ट हुन्छ । थपिनेले आफ्नो विरासत लिएर आउँछ नै । यसका पछाडि एकताका नाममा गरिने गरिएको सम्झौतावादी प्रवृत्ति र  नेताहरूमा निहित हामीले जे गरे पनि हुन्छ, आफू सुरक्षित भए पुग्छ भन्ने  केन्द्रीयतावादी–हैकमवादी प्रवृत्तिले काम गरेको छ । क्रान्तिकारी  भनिएकाहरूबीच   यताका दुई वर्षभित्र एकता र फूटका नाममा जे–जस्तो रमाइलो मेला देखियो, उदेक लाग्दो स्थिति उत्पन्न हुनु स्वाभाविक छ । तर, नेतृत्व तहमा रहेकाहरूले जिम्मेवारी बोध  गरेर आत्मसमीक्षा गर्नु आवश्यक ठान्दा रहेनछन्  । यो हाम्रो आन्दोलनको  विडम्बनात्मक  स्थिति  हो । 

यथार्थतः जबसम्म मिलेरावादी प्रवृत्ति र जातीयतावादी अतिवादी प्रवृत्तिहरू पार्टीहरूमा विद्यमान रहन्छन्, अझ माथिल्लो तहमै हाबी हुन्छन्, खास पार्टीले मालेमा, नयाँ जनवादी क्रान्ति, सशस्त्र सङ्घर्ष र वैज्ञानिक समाजवाद जे –जे भने पनि ती पार्टीले क्रान्तिकारी दिशा र गति लिन सक्तैनन् । ती गोलचक्करमै रहन्छन्, अथवा बैठकदेखि बैठकसम्म र विमर्शदेखि विमर्शसम्म सीमित रहन्छन् । यसको अन्तिम परिणति भनेको विघटन र विसर्जन हुन्छ । संशोधनवादले मिलेरावादी प्रवृत्ति बोकेकालाई सदैव उत्साहित र प्रोत्साहित गरिरहन्छ, आकासपाताल जोडेर नजिक ल्याउँन, आफ्नो बनाउँन खोजिरहन्छ, लोभ र प्रलोभनद्वारा आकर्षित गरिरहन्छ ।“‘जनमत सङ्ग्रह’ द्वारा वैज्ञानिक समाजवाद ल्याउने” कुरामा सहीछाप ठोक्नेहरू सोही विरासत बोकेर आउने कुरा अचम्मको कुरा भएन, “हामीले गलत सोचेछौँ र गलत गरेछौँ” भनेर उहाँहरूले भनेको कतै सुनिएन र पढ्न पनि पाइएको छैन  । त्यसै गरी क्रान्तिकारी पार्टीभित्र छिद्र खोज्दै साम्राज्यवादले  जातीयतावादी अतिवादलाई मलजल प्रदान गर्छ, आवेग र ’पहिचानवाद’ को राजनीतिमार्फत क्रान्तिकारी धारलाई मिहिन पाराले सिथिल पारेर  विर्सजन र भद्रगोलको स्थितिमा पुर्याउँछ  । हामीले यसलाई व्यवहारमा देखिसकेका छौँ । गलत प्रवृत्तिहरूलाई साथ लिएर र फोहोरमैलासित सम्झौता गरेर भएका पार्टी एकताहरू दिगो र कामकाजी हुन सक्तैनन्, भएका छैनन् । अहिले मोहन बैद्यले नेतृत्व गरेको समूहमा भएको  फूटको  शृंखलामा निहित यथार्थको  यो पनि  एउटा  पाटो  हो । 

 पार्टीलाई जीवन्त बनाउने सही उपाय भनेको फोहोरमैलाको पहिचान र सरसफाइ नै हो । पार्टीलाई सही दिशातिर लैजाने प्रारम्भिक पाइला भनेको वैचारिक र सङ्गठनात्मक शुद्धीकरण नै हो । डुङ्डुङ्ती गन्हाउने फोहोरमाथि अत्तर छरेर हुनेवाला छैन । यसले धान्नेवाला छैन,  तलदेखि माथिसम्म दुर्गन्धित छ भने सानोतिनो सरसफाइले पनि पुग्ने स्थिति हुँदैन । समस्या माथि छन्, तल डण्डा बर्साउने प्रवृत्तिले निम्त्याउने भनेको विभाजन र विसर्जन नै हो ।  वैचारिक शुद्धीकरण र  सङ्गठनात्मक शुद्धीकरण एकअर्काका पुरक हुन् ।

प्रचण्डसित हुँदाको समयमा पालुङ्टार विस्तारित भेलाअघि कमरेड किरणले ‘अन्नपूर्ण’ दैनिकमा  “म पनि फस्ट म्यान भएर पार्टी हाँक्न सक्छु”  भन्ने भावको अन्तर्वार्ता दिनुभएको थियो । प्रचण्डसितको विद्रोहपछिको समग्र स्थितिको अध्ययन गर्दा माओवादी आन्दोलनको नेतृत्वमा रहेका भ्रष्टहरूका  बीचमा  कमरेड किरण वैचारिक तहमा आधारभूत रूपमा  सही  पात्र   हुनुहुन्छ  । लेख्नेपढ्ने  कुरामा पनि वहाँ  कुशल हुनुहुन्छ  । तर, यति मात्रले पार्टी हाँक्ने र कुशल नेतृत्व दिने कुरा नहुँदो रहेछ । पार्टीमा  मूल नेतृत्वको सन्दर्भमा वहाँ  असफल भएको  कुरा सही हो । कमरेड मोहन बैद्यभित्र नेतृत्व कौशलको अभाव र गतिशीलताको समस्या रहेछ भनेर व्यवहारद्वारा साबित भएको यथार्थ हो ।  रुटिनबद्धता र अनुभववादले मात्रै पार्टी किन चल्दो हो र ! यो आत्मबोध र आत्मसमीक्षाको विषय हो । अहिले माओवादी आन्दोलन टुटफूट र विभाजनका साथै गम्भीर सङ्कट र विसर्जनको अवस्थामा पुग्नुका पछाडि मूल नेतृत्वसहित माथिल्लो तहको नेतृत्वदायी टिमभित्ररहेको समस्या नै प्रमुख कारक बनेको छ । 

एकताका नाममा पात्रहरू भित्रिनु  भनेको व्यक्ति मात्र  होइन, प्रवृत्ति पनि  भित्रिनु हो । नेकपा–माओवादीबाट विप्लव जत्था बाहिरिएपछि त्यहाँ माओवाद विरोधी, दसबर्से जनयुद्ध विरोधी, चुनाववादी र चरम जातीयतावादी एउटा गजबको जमात योजनाबद्ध किसिमले भित्रियो÷भित्र्याइयो । हिजो जनयुद्धको समयमा विद्यार्थी नेता विपिन भण्डारी पक्राउ गराउने र काठमाडौँ  जिल्ला पार्टीका कमरेडहरू पक्राउ गराउने भनेर भौतिक कारबाहीको सूचीमा परेका व्यक्ति पोलिट ब्युरो ‘कमरेड’ बनेर पार्टीमा  भित्रिँदा त्यतिबेर पक्राउ पर्ने  कमरेडलाई कस्तो पीडा भयो होला ?  यथार्थतः यताका दिनमा भएका कतिपय यस्तै  एकता पीडाका माध्यम बनेका छन् । एकताका नाममा हुने यस्ता सन्दर्भहरूले विस्तारै पार्टीलाई वैचारिक र साङ्गठनिक विचलन र पतनको दिशामा प्रवृत्त गराउँछन् । तर बैद्य समूहले यसको समीक्षा गर्नु आवश्यक ठानेन । पछिल्लो समयमा यो यति सारो अर्थवादी भयो कि यसले मानव तस्करका रूपमा परिचित पात्रको संरक्षणमा सिङ्गो पार्टी पङ्क्तिलाई होम्ने प्रयास  गर्यो  ।  

 संसोधनवादीहरू अनेक भ्रम दिइरहेका छन् । समाजवादी केन्द्र’ के–के केन्द्र बनाउने नाममा  कम्युनिस्ट आन्दोलनलाई विसर्जनमा पुर्याउने  खतरनाक  योजनामा तल्लिन छन् र साम्राज्यवादीहरू इन्डोनेसियाको जस्तो नभएर घुमाउरो बाटो लिइरहेका छन्, संसदबाटै सबै कुरा भ्याउन खोजिरहेका छन् ।    अहिले क्रान्तिकारीहरूबीच  वैचारिक र राजनीतिक एकताका साथ  दरिलो  सङ्घर्ष–मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता थियो र छ ।    ‘फेबिकोल’, त्यो पनि नक्कली फेबिकोलले दुईचार दिन धान्ला, फूट र विघटनको इतिहास टर्न सक्ने स्थिति छैन । 

पछिल्लो समयमा सन्तबहादुर नेपालीको नेतृत्वमा रहेको नेकपा (मशाल)  किरणको नेतृत्वमा रहेको पार्टीमा मिसिन आइपुगेपछि  र महाधिवेशन अनिश्चित जस्तो हुन थालेपछि नेकपा (बहुमत) समूहभित्र छटपटी बढ्न थालेको कुरा उहाँहरूका बोली र व्यवहारबाट थाहा पाउन सकिन्थ्यो । तर पनि वहाँहरूले एउटा कोर्स पूरा गर्नु सही हुन्थ्यो । एउटा खास दस्ताबेजमा सहमति भएपछि त्यसै अनुसार जानुपर्नेमा  केटौले पाराले हिजो विप्लवले अँगालेकै शैलीमा नेकपा (बहुमत) भित्रको ठूलो टिम बीचैमा हिँड्नुलाई राजनीतिक अधैर्य र इमानदारीको अभाव भन्नुपर्ने हुन्छ । सरसरती हेर्दा नेकपा (बहुमत) नामको समूह नेतृत्वविहिन समूहजस्तो लाग्छ, धर्मेन्द्र कमरेडमै वैचारिक–राजनीतिक जटिल समस्याहरू छन् भन्ने कुरा उहाँको  लेखाइ र बुझाइबाट थाहा हुन्छ ।  नेतृत्त्व भनेको  खास  पात्रको भौतिक उपस्थिति मात्र होइन,    मूलतः विचारको नेतृत्त्व हो   । वैचारिक र राजनीतिक पक्षमा गलत बुझाइ र क्रान्तिको दिशाबारे प्रस्ट नभएको यस्तो समूहको आयुबारे विश्वस्त हुन गारो हुन्छ । 

 वास्तवमा जसरी, जुन प्रक्रिया र पद्धतिमा नेकपा (बहुमत) नामको समूह र  नेकपा ( क्रान्तिकारी माओवादी) बीच एकता भएको थियो फूटको बिउ पनि त्यसैमा थियो । यसको जिम्मा मूलतः पूर्व बैद्य समूहले लिनु र आत्मसमीक्षा गर्नुको साटो नेकपा (बहुमत) माथि दोष थोपर्नुको अर्थ छैन । सँगै बस्ता महान् कमरेड, भोलिपल्ट रातारात गद्दार र ‘भगौडा ’साम्राज्यवादको एजेन्ट’   हुँनै स्थिति बन्दैन । हाम्रो आन्दोलन यस्ता जार्गनले खुबै भरिएको छ–यो  हाम्रो आन्दोलनको  संस्कृति नै बनेको छ – यो विकृतिको उदाहरण हो ।

रहर र लहडमा अलग्गिएका सानासाना टुक्राटाक्रीबारे टिप्पणी गर्नुको खासै अर्थ र सान्दर्भिकता छ जस्तो लाग्दैन । अब  नेकपा (बहुमत) नामको समूह कुन बाटोमा हिँड्छ, बुझ्न केही समय हेर्नैपर्ने हुन्छ । पछिल्लो स्थिति हेर्दा ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल’भनिने समूह  पनि वैचारिक–राजनीतिक तथा साङ्गठनिक पक्षमा गम्भीर सङ्कटबाट गुज्रिरहेको कुरामा कुनै शङ्का छैन । सङ्कट पर्यो  कि जे–जस्ता भेटे पनि दुईचार जना भित्र्याउने प्रवृत्तिले पार्टी,  पार्टीजस्तो नभएर थकाइ मार्ने  चौतारी मात्र बन्छ।  अहिले पनि ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल’भनिने पार्टीको   मूल नेतृत्व मोहन बैद्यको वरिपरि अर्थवादी, अवसरवादी र स्वार्थी प्रवृत्तिका जे–जस्ता मान्छेहरूको जमघट छ, स्थिति हेर्दा सो समूह अझै चोइटिँदै र अन्ततः विसर्जनमा जाने प्रबल सम्भावना छ । मोहन बैद्यले नेतृत्त्व गरेको राजनीतिक समूहमा उत्तराधिकारीको मात्र  होइन , प्रवक्ताको पनि समस्या रहेछ भन्ने कुरा पछिल्लो स्थितिले दर्साउँछ !

माओवादी आन्दोलनलाई विसर्जनबाट कसरी जोगाउने भन्ने कुरा गम्भीर समस्याको विषय बनेको छ । दुईचार जना    थपेर अहिलेको सङ्कट समाधान हुने स्थिति छैन र  सधैं आत्मगत स्थितिको रटान रटेर भ्रम  दिने आवस्था पनि हुँदैन । यसका  लागि दृढ ईच्छाशक्ति र सचेतन प्रयासको आवश्यकता पर्छ  ।   पार्टीभित्र उपभोक्तावाद हाबी भएपछि आउनेजाने क्रम चलिरहन्छ । वास्तवमा अहिलेको प्रश्न भनेको  कुन स्कुलिङमा ढालिएर अघि बढ्ने भन्ने प्रश्न हो । अहिले एकतामा मिसिएको सन्तबहादुर नेपालीको नेतृत्वमा रहेको समूहभित्र पनि अधिकांश पात्रहरू कम्युनिस्ट आन्दोलनमा अझ माओवादी आन्दोलनका सन्दर्भमा त झन्  परिचित पात्रहरू होइनन्, रामसिंह– परि थापाहरूको टोली  जस्तै  माओवाद र दसबर्से जनयुद्धप्रति  विरोधभाव  राख्नेहरू  हुन् । यिनबाट क्रान्तिकारी धारका लागि वैचारिक र राजनीतिक गुणात्मकता र उत्साह र ऊर्जा थप्ने कामकुरामा विश्वस्त हुने स्थिति छैन । यसले बढाएको भनेको सङ्ख्यात्मक मात्रा मात्र हो र त्यो पनि सानो मात्रा मात्र । विडम्बनाको कुरा के छ भने मोहन बैद्यको नेतृत्वमा रहेको राजनीतिक समूहको  टाउको चाहिँ निकै फुलेको, टाउकै टाउकाले भरिएको र तलतल चाहिँ सुक्तै गएको सुकेनास लागेको रोगीमा परिणत भएको समूहका रूपमा देखापरेको छ । माथिको बोझलाई तलको नलिखुट्टाले कति दिन धान्छ, भन्न गारो छ । 

यस्तो बेला गम्भीर भएर सोच्नुपर्ने अवस्था छ । हाम्रा सामु एउटा पेचिलो प्रश्न उभिएको छ— विसर्जन कि क्रान्तिकारी पुनर्गठन ? सबैले चिन्ता र चिन्तन गर्नुपर्ने  यसैमा छ । के हामी तयार छौँ क्रान्तिकारी पुनर्गठनका लागि ? स्थिति कस्तो छ भने प्रतिक्रियावादी सत्ताले एउटा मुद्दा दिन्छ र क्रान्तिकारीहरूलाई खेलाइरहन्छ । यो नै अहिले अस्तित्व धान्ने मेलो भएको छ । सङ्घर्षका मोर्चाहरू लथालिङ्ग छन् । मोहन बैद्यको नेतृत्त्वमा रहेको पार्टीको ’पूर्व किरण समूह’ का  इमानदार कार्यकर्ताहरू नै भन्ने गर्छन् ः “सिङगो पार्टीका नेता हौँ भन्छन्, ‘यस म्यानहरू’ को एउटा सानो झुन्डमा रमाइरहेका हुन्छन् । यस्तो स्थितिमा पार्टीले कसरी गति लिन्छ, समस्या मूल नेतृत्व  र नेतृत्त्वपंगतीमै छ  !”

टिप्पणी गर्नुपर्ने थुप्रै विषय छन् तापनि यतिखेर माक्र्सवाद–लेनिनवाद–

माओवादप्रति प्रतिबद्धहरू, दसबर्से जनयुद्धको विरासतसित जोडिएका  क्रान्तिका पक्षधर पार्टी, समूह र व्यक्तिहरूबीच आन्दोलनलाई कसरी नयाँ दिशा र गति दिने भन्ने विषयमा गम्भीर बहस बहसछलफल  र गहन विचार विमर्शको आवश्यकता छ  । अत्मसमीक्षा सहितको व्यापक वैचारिक र राजनीतिक बहसछलफलको अवश्यकता छ । कसरी एउटा क्रान्तिकारी केन्द्र बनाउने हाम्रो चिन्ता र चिन्तन यसमा केन्द्रित हुनु आवश्यक छ । यो साझा चिन्ता हुनुपर्छ । पार्टीहरूभित्र मान्छेहरूको  सङ्ख्या अलि बढी होला । तर, पार्टीबाहिर क्रान्तिकारी विचारकहरूको गुणात्मक उपस्थिति छ भन्ने कुरा पनि सत्य हो । लिपपोत गर्ने र रङ्गरोगन गर्ने तथा एकताका नाममा  दुईचार सङ्ख्या बढाउने कुराले खासै अर्थ राख्दैन  । गुणात्मक छलाङको आवश्यकता छ र यो काम क्रान्तिकारी पुनर्गठनबाट मात्र सम्पन्न हुन्छ र गर्न सकिन्छ ।