काठमाडौं । टिकटकले विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (STEM) सम्बन्धी विषयवस्तुलाई प्रोत्साहन गर्नका लागि सुरु गरेको ‘स्टिम’ फिड अब सबै प्रयोगकर्ताका लागि डिफल्ट रूपमा उपलब्ध गराएको छ । यसअघि नेपालमा सीमित प्रयोगकर्तामाझ उपलब्ध भएको यो फिचर अहिले प्रायः सबै प्रयोगकर्ताका लागि उपलब्ध भएको हो ।
सुरुवाती चरणमा कम्पनीले यो फिचर अमेरिका र युरोपमा मात्र उपलब्ध गराएको थियो । विस्तारै टिकटकले यो फिचर अन्य देशमा पनि उपलब्ध गराउन थालेको थियो । नेपालमा यसअघि सीमित प्रयोगकर्तामाझ उपलब्ध भए पनि अहिले प्रायः सबै प्रयोगकर्ताको फिडमा उपलब्ध भइसकेको छ ।
टिकटक एप खोल्दा सबैभन्दा माथि बाँयापट्टि ‘STEM’ को अप्सन देख्न सकिन्छ । उक्त अप्सनमा ट्याप गर्दा पढाइरहेका भिडिओ फिडमा देखिन्छन् । यदि ‘स्टिम फिड’ उपलब्ध भइसकेको छैन भने टिकटकको सेटिङ एन्ड प्राइभेसीमा रहेको कन्टेन्ट प्रिफेरेन्सेस भन्ने अप्सनबाट स्टिम फिड अन गर्न सक्नुहुन्छ ।
टिकटकका अनुसार #BookTok ले साहित्यलाई नयाँ उचाइ दिएको छ भने #LearnOnTikTok ले स्थानीय भूगर्भदेखि प्राचीन इतिहाससम्मका विषयवस्तु समेटेको छ ।
टिकटकका अनुसार २५ प्रतिशत किशोरकिशोरीहरूले साप्ताहिक रूपमा ‘स्टिम’ फिड हेर्ने गरेका छन् । पछिल्लो तीन वर्षमा स्टिम सम्बन्धी करिब १० करोड बढी भिडियोहरू टिकटकमा प्रकाशित भएका टिकटकले जनाएको छ ।
‘स्टिम’ फिडमा सम्बन्धित क्षेत्रका विज्ञले तयार पारेका सामग्रीहरू समावेश गरिएको हुन्छ । यो फिड सुरु भएदेखि विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका सामग्रीहरूमा ३५ प्रतिशतले वृद्धि भएको कम्पनीको भनाइ छ ।