झापा: झापाको सार्वजनिक बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु भएको छ। दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै मोरङ गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २५४५ नं को नागरिक यातायातको बसमा सवार चेम्जोङको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत साँझ ५.५० बजेतिर झिलझिले आइपुगेपछि सो बसमा सवार अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

एक्कासि बेहोश भएकी उनीलाई त्यसपछि लालिगुँरास हेल्थ केयरमा उपचार गरिएको थियो। त्यहाँ सम्भव नभएपछि उनलाई बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको थियो। तर, उनलाई साँझ ६ बजेर ५० मिनेटमा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।