काठमाडौँ :परराष्ट्रमन्त्री आरजु राणा देउवा र अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गि काठमाडौं । अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई पुनः निरन्तरता दिने संकेत अमेरिकाले गरेको छ ।
शुक्रबार भारत भ्रमण सकेर स्वदेश फर्केकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सहयोग परियोजना एमसीसीबारे अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गिलसँग कुराकानी गरेको जानकारी गराइन् ।
भेटवार्ताका क्रममा गिलले एमसीसी परियोजना निरन्तर कायम रहनेमा आफूहरू आशावादी रहेको जानकारी गराएको परराष्ट्रमन्त्री राणाले बताएकी छिन् ।
‘एमसीसीको बारेमा अमेरिकाले पुनर्मूल्यांकन गरिरहेको र यो सहयोग निरन्तर कायम रहनेमा आशावादी छौं भन्ने जानकारी गिलले गराउनुभएको छ,’ परराष्ट्रमन्त्री देउवाले भनिन् ।
उनले यस्ता सहयोग रोकिँदा नेपालजस्ता अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौतीको सम्बोधन गर्न आग्रह गरेको बताइन् ।
‘नेपाल सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौतीहरूको सम्बोधन गर्न सहयोगको लागि अनुरोध गरेँ,’ राणाले भनिन् ।
हाल अमेरिकी सहयोग नियोग (युएसएड)अन्तर्गतका अधिकांश कार्यक्रम रद्द गरिएका छन् ।
त्यस्तै, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को सहयोग पनि ९० दिन स्थगनमा परेको छ।
विपिनबारे अमेरिका गम्भीर
त्यस्तै, परराष्ट्रमन्त्री राणाले हमासको समूहले बन्धक बनाएर राखेका नेपाली विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न अनुरोध गरेको पनि बताइन् ।
७ अक्टोबर २०२३ देखि विपिनलाई हमासले बन्धक बनाएको छ । उक्त विषयमा गिललाई जानकारी गराइएको राणाले जानकारी गराइन् ।
‘अमेरिकाको ह्वाइट हाउसमा नै बन्धकहरु हेर्ने एउटा युनिट रहेछ । त्यो युनिटले अमेरिकी बन्धकसँग विपिन जोशीको रिहाइमा पनि काम गरिरहेको रहेछ,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।
‘उहाँ सकुशल हुनुहुन्छ भने जसरी अमेरिकी नागरिकका लागि पहल गरेका र्छौं, विपिन जोशीका लागि पनि गर्छौं भन्ने प्रतिबद्धता प्राप्त भएको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।
युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाससँगको भेटमा यूक्रेनमा यद्धबन्दीको रुपमा रहेका ७ जना नेपाली नागरिकहरूको तत्काल रिहाइ र स्वदेश फिर्ताको सहजीकरणका निम्ति अनुरोध गरेको देउवाले जानकारी दिइन् ।
युक्रेनी परराष्ट्रमन्त्रीले त्यसका लागि तत्कालै आवश्यक प्रक्रिया सुरु गर्ने प्रतिवद्धता गरेको पनि उनले जनाइन् । सो क्रममा नेपाल र युक्रेनबीच कूटनीतिक, अफिसियल तथा सर्भिस पासपोर्टका लागि भिसा छुट सम्झौतामा हस्ताक्षर भएको छ ।
भारत भ्रमणमा रहँदा देउवाले भारतीय विदेशमन्त्री डा एश जयशंकर, मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जीया, युक्रेन र फिलिपिन्सका परराष्ट्र मन्त्रीहरु तथा संयुक्त राष्ट्र अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक महामहिम रिक्की गिलसँग भेटेकी थिइन् ।