काठमाडौँ :गौरीशंकर गाउँपालिका–९ रोल्वालिङ उपत्यकास्थित बेदिङको एकै परिवारका चार दिदीबहिनी सात महादेशका सात अग्ला हिमाल आरोहण अभियानमा छन् । ‘फोर सिस्टर अन ७ समिट’ नाम दिएर उनीहरूले सातै महादेशका अग्ला हिमाल आरोहण गरिरहेका छन् ।
३४ वर्षीया निमा जङ्मु, ३० वर्षीया छिरिङ नामय र २८ वर्षीया दावा फुटी शेर्पाले पहिलो पटक सन् २००३ मा एकैसाथ सगरमाथा आरोहण गरेका थिए । त्यसपछि उनीहरूले जेठी दिदी ४२ वर्षीया छिरिङ आङजुमलाई समेटेर सन् २०२१ मा ७ महादेशका ७ अग्ला हिमाल आरोहण अभियान थालेका हुन् । उनीहरूले ५ महादेशका अग्ला शिखर चुमिसकेका छन् ।
८ हजार ८ सय ४८ मिटरको सगरमाथाका साथै दक्षिण अफ्रिकाको ५ हजार ८ सय ९५ मिटरको किलिमन्जारो, दक्षिण अमेरिकाको ६ हजार ९ सय ६१ मिटरको एकोनकागुआ र युरोपको ५ हजार ६ सय ४२ मिटरको माउन्ट एल्ब्रसको शिखरमा उनीहरू पुगिसकेका छन् । शनिबार बिहान भने ओसियानाको सबैभन्दा अग्लो ४ हजार ८८४ मिटरको कार्स्टेज पिरामिडको उनीहरूले सफल आरोहण गरे ।
अब उत्तर अमेरिकाको ६ हजार १ सय ९४ मिटरको डेनाली र अन्टार्कटिकाको ४ हजार ८ सय ९२ मिटरको भिन्सन मासिफ सन् २०२५ भित्र आरोहण गरिसक्ने लक्ष्य रहेको दावा फुटीले बताइन् ।
बेदिङका दोर्जी शेर्पा र रिन्जिन डोल्माका सन्तान उनीहरूले बुबाको सपना पूरा गर्न ७ वटै महादेशको हिमाल आरोहण गरिरहेको जनाएका छन् । दोर्जीले सन् १९८३ मा जापानी टोलीसँग जाडोयाममा सगरमाथा आरोहण गर्ने क्रममा शीतदंशबाट दुवै हातका ८ औंला गुमाएका थिए । ‘बुबाको सगरमाथा चढ्ने सपना औंला गुमाएपछि पूरा हुन सकेन,’ दावा फुटीले भनिन्, ‘बुबाको सपना पूरा गर्न हामी ३ दिदीबहिनीले सगरमाथा चढ्ने प्रण गरेका थियौं, पछि जेठी दिदीलाई पनि अभियानमा ल्यायौं ।’
दोर्जी र रिन्जिनका ६ मध्ये ५ सन्तान हिमाल आरोहणमा छन् । त्यसमा एक मिङ्मा ग्याल्जे शेर्पा अर्थात् मिङ्माजीले ८ हजार मिटर अग्ला सबै १४ हिमाल बिनाअक्सिजन जाडोयाममा आरोहण गर्ने कीर्तिमान बनाएका छन् । चार दिदीबहिनीले यसै वर्ष माउन्ट एल्ब्रस, किलिमन्जारो र सगरमाथा पुनः आरोहण गर्ने जनाएका छन् ।
एकै परिवारका ४ दिदीबहिनीले सातै महादेशका अग्ला चुचुराको सफल आरोहण गरे दुर्लभ कीर्तिमान बन्ने एभरेस्ट समिट क्लबका उपाध्यक्ष पासाङ किदर शेर्पाले बताए । ‘बेदिङबाट हिमाल आरोहण गर्नेहरूले धेरै कीर्तिमान बनाएका छन्,’ उनले भने, ‘तर पहिलो पटक यहाँका ४ दिदीबहिनीले एकै पटक सगरमाथासहित ७ महादेशका अग्ला चुचुरा पुग्दा दुर्लभ कीर्तिमान बन्नेछ ।’ ‘फोर सिस्टर अन सेभेन समिट’ ले बेदिङलाई हिमाल आरोहीको मात्रै नभएर महिला आरोहीको गाउँका रूपमा समेत स्थापित गर्ने उनले बताए ।