काठमाडौँ :राजश्व छली गरी विभिन्न देशका मुद्राहरू अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। मंगलवार चैत्र ४ गते राति ११ बजे काठमाडौंका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना.७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिव २५ करोड रुपैयाँ बरामद गरेको हो।

अमेरिकी डलर, युरो लगायतको मुद्राहरू रहेको प्रहरीले बताएको छ। मंगलवार पत्रकार सम्मेलन थरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

गाडी विशेष सुराकीको आधारमा रसुवातर्फ जाँदै गरेका बेलामा नियन्त्रणमा लिइएको बताए। पक्राउ पर्नेमा ट्रकका चालक जिल्ला सिन्चधुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर १ का फुच्चे भन्ने कुसाङ लामा रहेका छन्। खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाई छिपाई ल्याएको अमेरिकी डलर र युरो भेटिएको प्रहरीले बताएको छ।

 बरामद रकममा अमेरिकी डलर १ सय दरका नोटहरू ३ हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरू १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, ४८०, युरो सय दरका थान ४ हजार १४८, युरो ५० दरका थान १७ हजार १७७ र मोबाइल २ थान बरामद भएको बताए।

४३ वर्षका लामा पहिला पनि एक पटक पक्राउ परी जेल चलान भइसकेको व्यक्ति भएको बताए। अवैध सुन तस्करको आरोपमा यसअगाडि ५ वर्ष जेल बसेका उनी निस्किएपछि आमाको नामबाट ट्रक निकालेका थिए।

उक्त रकम कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको बस्नेतले बताए। उनले भने, ‘उनले अमुक व्यक्तिको नाम बताएका छन्। विस्तृत अनुसन्धान हुँदैछ।‘