काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच संवेदनशील क्षेत्रमा दुई

 महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन्। 

राष्ट्रपति कार्यालय शीतल निवास, उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभाजस्ता विरोध कार्यक्रम गर्न नपाइने प्रशासनले जनाएको छ। 

शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्रमा उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि एक सय मिटर दक्षिणसम्म, दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म निषेधाज्ञा जारी भएको हो। त्यस्तै हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म पनि निषेधाज्ञा जारी भएको छl 

यसैगरी सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूलगेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म निषेधाज्ञा जारी भएको छ। पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्त्व विभागको चोकसम्म, पुरातत्त्व विभागको चोकदेखि सिंहदरवार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म पनि निषाधाज्ञा जारी भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा बालुवाटार पवित्र वर्कसप चोकदेखि नेपाल राष्ट्र बैंक हुँदै इटालिया चोक र सो चोकदेखि भाटभटेनीतर्फ ५० मिटरसम्म, इटालिया चोकदेखि पश्चिमतर्फ राष्ट्रियसभा अध्यक्षको निवाससम्म र सो निवासदेखि गैह्रीधारा जाने सडकतर्फ एक सय मिटरसम्म निषेधाज्ञा जारी भएको हो। प्रधानमन्त्री निवासको उत्तरपूर्वी मोडदेखि प्रधानन्यायाधीश निवासको मोडसम्म र सो मोडदेखि पश्चिमतर्फ एक सय मिटरसम्म, प्रधानन्यायाधीश निवासको मोडदेखि पूर्वदक्षिणतर्फ राष्ट्रियसभा अध्यक्षको निवासको मोडसम्म र राष्ट्र बैंकचोकदेखि पूर्वतर्फ जाने सडकको एक सय मिटरसम्म पनि निषेधाज्ञा जारी भएको हो। 

संसद् भवन नयाँबानेश्वर क्षेत्रतर्फ संसद् भवनको चारैतर्फको सडक क्षेत्र, संसद् भवनको दक्षिणपूर्वी मोडदेखि पूर्वतर्फ तीन सय मिटरसम्म र बानेश्वर चोकदेखि पश्चिमतर्फ तीन सय मिटरसम्म निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी भएको हो। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने भएकोले निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसका साथै सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने हुँदा जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिससमेतका आधारमा निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ।