काठमाडौँ :निर्यात, पर्यटन, विदेशी लगानीलगायत विदेशी मुद्रा आर्जनका मुख्य स्रोतमा अपेक्षित सुधार नहुँदा पनि लगातार रेमिट्यान्स बढेकाले अर्थतन्त्रको बाह्य क्षेत्रमा कीर्तिमान कायम भएको छ । विदेशी मुद्रा सञ्चितिले ३० महिनादेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ भने शोधनान्तर र चालु खाता बचत पनि थप बलिया बनेका छन्l
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत माघको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार सात महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतको वृद्धि हो ।
पछिल्लो डेढ वर्षयता हरेक महिना एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिइरहेको छ । यही कारण विदेशी मुद्राका अन्य स्रोत निर्यात, पर्यटन, विदेशी लगानी, विदेशी अनुदान तथा सहायताको अवस्था नाजुक हुँदा पनि अर्थतन्त्रका बाह्य सूचक निरन्तर बलियो बन्दै गएका हुन् ।
गत माघसम्मको विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ । गत माघसम्मको सञ्चिति २०८१ असारको तुलनामा १६.१ प्रतिशतले बढेको हो । गत असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो । चालु वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ l
विदेशी विनिमय सञ्चिति बढ्नुमा रेमिट्यान्सकै योगदान बढी छ । २०८०/८१ मा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको थियो । अघिल्लो वर्ष आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढ्दो छ ।
चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८ सय ८६ छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४ सय ३२ र १ लाख ५७ हजार ४५ थियो ।
विदेशमा आर्जन गरेको रकम नेपाल भित्रने क्रम निरन्तर बढिरहे पनि सरकारी आम्दानी र खर्चमा सुधार हुन नसक्दा अर्थतन्त्रले गति भने लिन सकेको छैन । निरन्तर बढिरहेको रेमिट्यान्स नेपालमा उपयोगसमेत हुन नसकिरहेको अर्थविद्ले बताएका छन् । विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स, शोधनान्तरलगायत सूचक निरन्तर बलिया भए पनि समग्र अर्थतन्त्रका सूचकहरू सन्तोषजनक नरहेको अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।