काठमाडौँ :सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले सात महिना बित्दासमेत बिमा क्षतिपूर्ति पाएका छैनन् । गत साउन ९( जुलाई २४)मा पोखराका लागि उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनाग्रस्त हुँदा एयरलाइन्सका प्राविधिकसहित १८ जनाको ज्यान गएको थियो ।
‘फेरि–फ्लाइट’ (नन–रेभिन्यु) उडानमा रहेको सौर्य एयरलाइन्सको सीआरजे–२०० विमान १०० मिटर उचाइ लिएपछि असन्तुलित भई ४ सेकेन्डमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउमै झरेको थियो । दुर्घटनामा ३५ वर्षीय क्याप्टेन मनीषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो भने एक बालकसहित १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । शाक्य दिल्लीमा उपचार गरेर हाल घरमा आराम गरिरहेका छन् । थप उपचारका लागि उनलाई सिंगापुर लैजाने तयारी भइरहेको सौर्यले जनाएको छ ।
सरकारले दुर्घटना जाँचबुझका लागि प्राधिकरणका पूर्वमहानिर्देशक तथा एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगले ७ महिना बितिसक्दा पनि पूर्ण प्रतिवेदन सार्वजनिक गरेको छैन । घटनालगत्तै पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले ९० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने अभिव्यक्ति दिएका थिए । तर २२७ दिनसम्म पनि पूर्ण प्रतिवेदन नआउँदा पनि सरकार मौन छ