झापा   । झापाको मेचीनगर नगरपालिकामा चरा पर्यटनको सम्भावना देखिएको छ । चरा प्रेमीका लागि मेचीनगर ठुलो केन्द्र बन्न सक्ने बताइएको छ । आउँदो वर्षलाई कोशी प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरिसकेको छ ।

चराको खोज र अनुसन्धान गर्दै आएका देवेन्द्र खरेलले मेचीनगरमा फेरि एउटा नयाँ चरा फेला परेको बताए  । उनले मेचीनगरमा भेटिएको नयाँ चरा नेपालकै लागि नयाँ रेकर्ड भएको दाबी पनि गरे  ।  

२०८१ फागुन ७ ( फरबरी १९) मा बिहान ८ः३० बजे काँकडभिट्टाको एक बगैचामा ‘बैजनी बुङ्गे चरा’ को जोडीको पहिलो तस्बिर र भिडियो खिचेर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाइएको थियो । कमिटीले यसको पुष्टि गरेको खरेलले बताए  । यससँगै नेपालमा पाइने चराको सङ्ख्या अब ८९८ पुगेको छ ।

‘बैजनी बुङ्गे चरा’ नामको नयाँ प्रजातिको चरा फेला परेको उहाँको दाबी छ । यसको अङ्ग्रेजी नाम ‘पर्पल रम्प सनबर्ड’ भएको उनले जानकारी दिए  । मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन गरेर चरा संरक्षणमा लागेका खरेलले यसभन्दा अघि ‘हरित परेवा’ नयाँ चरा फेला पारेका थिए  ।

“भारतसँग सीमा जोडिएको झापाको मेचीनगर चराको प्रमुख केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ,” खरेलले भने  । चराविद् देवेन्द्र खरेलले नेपालबाट लोप भइसकेको ठानिएको ‘हङरायो’ नामक दुर्लभ चराको तस्बिर र भिडियोसमेत खिचेका छन  l