भक्तपुर l नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनले पनि अध्यक्षमा नारायणमान बिजुक्छे ‘रोहित’लाई नै निरन्तरता दिएको छ । भक्तपुरमा सम्पन्न आठौँ अधिवेशनमा उनी पुनः सर्वसम्मत रूपले अध्यक्ष निर्वाचित भए । १९८५मा बिजुक्छेको नेतृत्वमा स्थापना भएको यो पार्टीमा आजसम्म आइपुग्दा अध्यक्षमा उनी नै निर्वाचित भए । आठौँ महाधिवेशनको बन्द सत्रले बिजुक्छेको अध्यक्षतामा ३३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले जानकारी गराए ।
तीन सदस्यीय पदाधिकारीको व्यवस्था रहेको नेमकिपामा अध्यक्ष बिजुक्छे जस्तै सचिवमा प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रेम सुवालले निरन्तरता पाएका छन् भने कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति पनि यथावत् रहे । अघिल्लो सातौँ महाधिवेशनको २५ सदस्यीय केन्द्रीय समितिले नपुगेर आठौँ महाधिवेशनले भने ३३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अघिल्लोपटक वैकल्पिक केन्द्रीय सदस्य रहेका कृष्णबहादुर तामाङ र मुक्ति यादव केन्द्रीय सदस्यमा पदोन्नति भएका छन् ।
महाधिवेशनले भक्तपुर नगरपालिका– ५ का वडाध्यक्ष एवं अध्यक्ष नारायणमान बिजुक्छेका भाइ योगेन्द्रमान बिजुक्छेसहित पाँचजना नयाँ नेताहरूलाई केन्द्रीय सदस्य निर्वाचित गरेको छ । जसमा बखत थापा, रमेशकुमार रावल, केशेन्द्रप्रकाश कार्की र खड्गराज शाही रहेका छन् । महाधिवेशनले चारजना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेको छ । वैकल्पिक सदस्यहरूमा मञ्जु चौधरी, विनोद विक, तुलसी खड्का र प्रकाश गुरुङ रहेका छन् ।
नवनिर्वाचित ३३ सदस्यीय केन्द्रीय सदस्यहरूमा अघिल्लो २५ सदस्यीय समितिका २३ यथावत् छन् । अघिल्ला समितिका केन्द्रीय सदस्यहरू सुनील प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाईं, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, सुरेन्द्रराज गोसाईं, रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैयाँ सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सिर्जना सैंजू र सरोजकुमार शाह यथावत् रहेका हुन् ।
महाधिवेशनबाट सात प्रदेशमा सात संयोजकहरूसमेत तोकिएका छन् । कोशी प्रदेशमा उकेश कवां, मधेशमा सुनिल प्रजापति, बागमतीमा प्रेम सुवाल, गण्डकीमा डिल्लीप्रसाद काफ्ले, लुम्बिनीमा हरिसुन्दर बासी, कर्णालीमा सरोजराज गोसाईं र सुदूरपश्चिममा नवराज कोइराला संयोजक तोकिएका बताइएको छ । महाधिवेशनमा ५० जिल्लाबाट करिब ३५० प्रतिनिधि पर्यवेक्षकहरू सहभागी थिए ।